Sunday, May 29, 2011

फिल्म चल्दैन । हल्लै धेरै : बर्ष समिक्षा


Sushil Poudel 

शुशील पौडेल
काठमाडौ । अघिल्लो वर्ष कमिलाको ताँतीजस्तै लहरै माओवादीमा छिरेर समाचार बनाएका कलाकारले आपनो करामत यसपटक पनि कायम राखे । यसपटक भने यसमा लहर थिएन, एउटै भुवन केसी काफी भए । फिल्म यात्राको यसपटकको फड्केमा उनी एक्लै थिए र यो 'उल्टो गंगा' थियो, एमाले । 'उल्टो' किनभने उनका धेरै कलाकार साथी माओवादीतिर गइरहेका थिए । 


रेखा थापा माओवादीको कार्यक्रममा नाचेकोमा सकेको बल लगाएर आलोचना गरेको मिडिया 'उद्योग' ले भुवनका मामलमा भने क्रूरता देखाएन । फिल्मभन्दा बढी नयाँ-नयाँ काण्ड र हल्लाले समाचारमा आउने भुवनको एमाले प्रवेशका विषयमा धेरैले गरेको हल्का टिप्पणी 'फिल्म चलाउनका लागि' मा उनीप्रति सहानुभूति मिसिएको थियो । 

  • 'दासढुंगा', 'एक दिन एक रात' र 'ब्याच नम्बर-१६' जस्ता फिल्मले मूलधारका केही नियम तोडे पनि त्यसको जगलाई पूरै हल्लाउन सकेनन् । 
  • फस्ट लभ', 'गोर्खा पल्टन', 'कसले चोर्‍यो मेरो मन', 'बाटोमुनिको फूल' जस्ता फिल्मले करोडको हाराहारी लगानी गरेर पनि नाफा कमाएको समाचार आए ।
  • डिजिटल प्रविधिबाट नेपाली फिल्मको प्रदर्शन हुन थालेपछि 'सय दिन' र 'एकाउन्नौं दिन' को दुःखबाट पनि फिल्म उद्योगले पार पायो । चलेको एक हप्तामै व्यापारको टुंगो लाग्ने दिन धेरै टाढा छैन । 
भुवनजस्तै अर्का हिरोले पनि आधा वर्षजति पत्रिकाका गसिप कोलम रंग्याए । दस वर्षअघि मुम्बईबाट फर्केर नेपाली फिल्मको एक्सनमा क्रान्ति ल्याएका निखिल उप्रेती यो वर्ष फेरि मुम्बई हानिए । अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेको समाचारले बजार हल्ला तताइरहेका बेला भोजपुरी र हिन्दी फिल्ममा 'स्ट्रगल' गर्न भनी उनी मुम्बईतिर लागे । कुनै चल्तीको नेपाली फिल्मको कथाजस्तो उनको 'राइज एन्ड फल'को कथाले राजनीतिका समाचारले भरिने अखबारलाई मसलाको काम गरे । 


लामो समयसम्म नेपाली फिल्ममा 'हिरोइन' को विम्ब बनेकी करिश्मा मानन्धर नेपाल फर्केर केही फिल्म खेल्न थालिन् । उनको अभिनयको भन्दा बढी स्पाका तस्बिरले बढी चर्चा पाए । सरोज खनालको कथा पनि 'भेटिनु छुट्टनिु त के हो र ?' जस्तै भयो । घरी यता घरी उता गरेर उनको वर्ष बित्यो । धुमधामसँग स्वदेश फर्किएकी मनीषा कोइरालाको नेपाली फिल्ममा पुनरागमन सुखद् रहेन । एकातिर विवाहलगत्तै उनको सम्बन्धका विषयमा नकारात्मक हल्ला आयो भने अर्कातिर उनले अभिनय गरेको फिल्म 'धर्मा' ले न गतिलो व्यापार गर्‍यो न समीक्षकको सराहना पायो । 


राजेश हमाल, विराज भट्ट, रेखा थापा, राजवल्लभ कोइराला, जीवन लुइँटेल र आर्यन सिग्देलजस्ता कलाकार भने एउटै रेखामा बसिरहे । यिनको करिअर-ग्राफमा सेयर बजारमा जस्तो अपर्झट हेरफेर देखिएन । 

यी त भए कलाकारका कुरा । फिल्म उद्योग आपै+mमा भने यो वर्ष कलाकार जति पनि भाग्यमानी रहेन । नेपाली फिल्ममा लिआएको सनातन 'टे्रन्ड' भत्काउने त्यस्तो कुनै चामत्कारिक फिल्म यो वर्ष पनि आएन । लामो समयदेखिको यो प्रतीक्षा अझै केही समयका लागि टरेको छ । डिजिटलको जय होस् ! प्रविधिको प्रयोग, खासगरी क्यामेरा र सम्पादनमा भने यो वर्ष केही फरक देखियो । 



'दासढुंगा', 'एक दिन एक रात' र 'ब्याच नम्बर-१६' जस्ता फिल्मले मूलधारका केही नियम तोडे पनि त्यसको जगलाई पूरै हल्लाउन सकेनन् । रंगमञ्चमा नाम कमाएका अभिनेता अनुप बरालले यी तीनवटै फिल्ममा अभिनय गरेका थिए । 'दासढुंगा' बाट त उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कारसमेत पाए । 



मूलधार भनिने फर्मुला फिल्मले पनि यो वर्ष व्यापारमा खासै चमत्कार देखाएनन् । वर्षको सुरुतिरका केही फिल्मले राम्रो व्यापार गरे पनि हलमा दर्शकको खडेरी धेरै समय कायम रह्यो । यस अर्थमा वर्ष २०६७ फिल्मभन्दा कलाकारका कारण स्मरणयोग्य बन्यो भन्दा फरक पर्दैन । 



लगानीका हिसाबले भने यो वर्ष नेपाली फिल्मले ठूलै फड्को मार्‍यो । निर्माताहरूको दाबीमा विश्वास गर्ने हो भने करोडभन्दा बढी लगानीमा फिल्म बने । 'फस्ट लभ', 'गोर्खा पल्टन', 'कसले चोर्‍यो मेरो मन', 'बाटोमुनिको फूल' जस्ता फिल्मले करोडको हाराहारी लगानी गरेर पनि नाफा कमाएको समाचार आए । 



फिल्म हलमा चलिरहेका बेला 'कसम हजुरको' र 'बाटोमुनिको फूल'का चोरी गरिएका सीडी, डीभीडी बजारमा भेटिएपछि कपी-राइटको मुद्दा केही समय उठ्यो । 'स्वर', 'कोही मेरो', 'हाँसिदेऊ एकफेर' जस्ता फिल्मले रिलिजअगाडि राम्रो चर्चा बटुले पनि व्यापार भने सामान्य गरे । 



'इन्डियन आइडल' प्रशान्त तामाङ ठूलो पर्दामा हिरो भएर झुल्किएको यही वर्ष देशमा सबभन्दा बढी चर्चा भने एकजना क्यानेडियन गायकले कमाए । ब्रायन एडम्स नाम गरेका यी 'ब्रान्ड' गायकले पुरानो प्रजातन्त्र दिवसका दिन राजधानी सहरलाई आपmनो स्वरमा झुमाएर गए । 



बंगलादेशमा विश्वकप क्रिकेटको उद्घाटनमा गाएर आपmनो जम्बो टोलीसहित त्यसै दिन काठमाडौं आइपुगेका ब्रायनको आगमनले पप गीत 'पश्चिमा विकृति' बाट एकाएक 'सांस्कृतिक सेतु' मा रूपान्तरित भयो । बालुवाटारका अस्थायीवासीहरूले समेत उनमा चासो देखाएपछि यो घटना 'राष्ट्रिय महत्त्व'को बन्यो । 



सात समुद्रपारिबाट मात्र होइन, यो वर्ष दसगजापारिबाट पनि केही सांस्कृतिक दूतहरू राजधानी ओर्लिए । भारतीय कला फिल्मका हस्तीहरू श्याम बेनेगल, गौतम घोष र गोविन्द निहलानी यो वर्ष आपmना केही फिल्म र ज्ञानको थैली बोकेर आए । यी तीनैले नेपाली फिल्ममेकरहरूलाई राम्रो फिल्मको दीक्षा दिएर गए । यसरी शिक्षित बनाउनेमा एकजना कोरियाली निर्देशक किम दोङ बिनसमेत थिए । यिनको दीक्षाले नेपाली फिल्ममा कहिले र कस्तो परिवर्तन ल्याउनेछ, फिल्म उद्योग त्यसको प्रतीक्षामा पलेँटी कसेर बसेको छ । 



डिजिटल प्रविधिबाट नेपाली फिल्मको प्रदर्शन हुन थालेपछि 'सय दिन' र 'एकाउन्नौं दिन' को दुःखबाट पनि फिल्म उद्योगले पार पायो । चलेको एक हप्तामै व्यापारको टुंगो लाग्ने दिन धेरै टाढा छैन । 



भारतमा पहिलो नेपाली फिल्म 'सत्य हरिश्चन्द्र' बनेको ६० वर्ष पुग्दा नेपाली फिल्मले केही प्रतिभा गुमायो । द्वन्द्वनिर्देशन र कलानिर्देशनजस्ता अर्धप्राविधिक कलालाई नेपालमा स्थापित गर्ने गोपाल भुटानीको यो वर्ष लामो बिरामीपछि निधन भयो । बलिउडमा केही वर्षको अनुभव संगालेर नेपाल आएका भुटानी 'धनले कमजोर तर प्रतिभाले भरिएको कलाकार'को सामाजिक छविका उदाहरण थिए । 



यस्तै नेपाली नाटक र फिल्ममा महिला कलाकारको प्रवेशलाई सहज तुल्याउन योगदान गरेकी अभिनेत्री शान्ति मास्के पनि आफूले अभिनय गरेका फिल्मका रिल र दर्शकका सम्झनामा जीवित रहनेगरी गइन् । बम्बैमा संघर्ष र नेपालमा सफलता पाइरहेका गायक कुमार कान्छाको पनि यही वर्ष निधन भयो । 



यो वर्ष केही कलाकार रजतपटबाट बिदा भए भने केहीले यसमा पहिलो पाइला पनि हाले । अनुप बराललाई पछ्याउँदै रंगमञ्चबाट सुवास थापाले फिल्ममा हामफाले । सौगात मल्ल र दयाहाङ राईले पनि फिल्ममा निरन्तरता दिइरहे । प्रशान्त तामाङजस्तै गायकहरू बाबु बोगटी र यशकुमारले पनि फिल्ममा आपmनो भाग्य जाँच गरे । 'सिक सिटी' र 'ब्याच नम्बर-१६'बाट परम्परागत नेपाली हिरोको भन्दा अलग्गै बान्की भएका अर्पण थापाले 'एग्रेसिभ' प्रवेश गरे । 



देशमा लोडसेडिङको माकुरीजाल फैलिए पनि केही कलाकार टीभीमा धेरै देखिए । फिल्म कलाकारका लागि विज्ञापन राम्रो 'माइलेज' र कमाइको एजेन्डा लिएर आयो । सानो पर्दामा कोही बिमा एजेन्ट भएर देखिए भने केही कलाकारले बद्नाम भएका पेयको सफाइमा हातमा सर्फ र साबुन लिएर निस्किए । बैंक, कलेज र सिमेन्टको त कुरै भएन ।



नेपाली फिल्मको यो वर्ष मिश्रति रह्यो । परम्परागत शैलीका फिल्मका सवालमा यो वर्ष पनि हिसाबमा खासै गडबडी भएन । केहीले कमाउने र धेरैले गुमाउने समीकरण यो वर्ष पनि कायम रह्यो । नयाँ शैलीका दाबी गरिएका केही फिल्म साँच्चिकै नयाँ देखिए भने केही झूटा सावित भए । 



छोटा फिल्म बनाउनेको लर्को सहरमा झन्झन् लम्बिँदै गयो । मौलिक नेपाली फिल्मको सपना यिनकै काँधमा आएर थेगि्रएको छ । 



तुलसी घिमिरे, शिव रेग्मी र नवीन सुब्बाजस्ता आपmनो शैलीका फिल्मका लागि नाम कमाएका निर्देशकका फिल्म २०६८ मा आउँदै छन् । र, फिल्म पढेका र लामो समय 'फिल्ड' मा काम गरेका नयाँ प्रतिभाहरू यस वर्ष निर्देशकको पगरी गुथेर मैदानमा उत्रिनेछन् । 



अन्य सामाजिक विधामा जस्तै फिल्ममा पनि सबभन्दा बढी आशा नयाँबाट गरिन्छ । वर्ष २०६८ मा यी नयाँले कस्तो चमत्कार देखाउँछन् ? यसका आधारमा आउने वर्ष मात्र होइन, गएको वर्षको पनि पुनर्मूल्यांकन हुनेछ ।

No comments: