नवराज मैनाली
काठमाडौं । दुई वर्षदेखी रोकिदै आएकोमा शुक्रबार प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका चार सय ५० प्रहरी निरीक्षकको सरुवा गरेको छ । सरुवाको मापदण्ड विपरीत सरुवा गरेको भन्दै प्रहरी अधिकारीले सरुवामा असन्तुष्टि जनाएका छन् । आठ सय भन्दा बढि प्रहरी निरीक्षकको सरुवाको तयारी भए पनि गृहमन्त्री लगायत नेताहरुसँगको विवादकै कारण चार सय ५० को मात्र सरुवा भएको हो । ‘पावर’ र ‘पैसा’ लाई सरुवाको आधार बनाइएको र क्षमतावान् प्रहरीलाई उपेक्षा गरिएको भन्दै प्रहरी निरीषक तथा उच्च प्रहरुी अधिकारीले समेत सरुवाप्रति असन्तोष व्यक्त गरेका छन् ।
सरुवासूचिअनुसार काठमाडौंका आकर्षक र महत्वपूर्ण मानिने दरबारमार्ग प्रभागमा तपन दाहाल, सोह्रखुट्टेमा तिलक भारती, जनसेवामा हेम कुमार थापा, गौशलामा अपिल बोहरा, सिहदरबारमा श्याम महतो, किर्तीपुरमा ज्ञान कुमार महतो, कमलपोखरीमा किरण कुँवर , स्यम्भु प्रभागमा संजय रिजाल, थानकोटमा सुधीर कुमार शाहीको सरुवा भएको छ ।
राजधानीका ‘लाइन’ का कार्यालय मानिने ती कार्यलयमा पहिलेदखी नै आकर्षक कार्यालयमा बसेका प्रहरी अधिकारीलाई दिइएको छ । दरबारमार्गमा सरुवा भएका इन्सपेक्टर दाहाल चार वर्षअघि सोह्रखुट्टे प्रभागमा थिए । सोह्रखुट्टे प्रभागमा रहदा उनी घुस प्रकरणमा मुछिएका अधिकृत हुन् । स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्रीका आफन्त भक्तिनाथ माझिको सोर्सफोर्सका आधारमा उनी सर्वाधिक आकर्षक मानिने दरबारमार्ग प्रभागमा सरुवा भएका हुन् ।
यसअघि कार्यक्षमतामाथि प्रश्न उठाउदै उनको सरुवा भएको थियो । सचिव बिन्दा हाडाको गाडिको विषयलाई लिएर उनीमाथि हातपात हुँदा समेत हेरेर फसेको भनेर उनलाई त्यसबेला सोही दिन सरुवा गरिएको थियो । उनै इन्सपेक्टरलाई प्रहरी महानिरीषक रवीन्द्रप्रताप शाहले ‘पुरस्कृत’ गर्दै गृहमन्त्रीको दबाबमा दरबारमार्गमा सरुवा गरेका हुन् । उनलाई दरबारमार्गमा सरुवा गर्न सो क्षेत्रका केही होटल व्यवसायिको समेत हात रहेको स्रोतको भनाई छ ।
त्यसैगरी सोह्रखुट्टे प्रभागमा सातदोबाटो प्रभागका तिलक भारतीको सरुवा भएको छ । उपत्यकाकै प्रभागबाट एक नम्बरको प्रभागमा सरुवा हुने उनी भाग्यमानी प्रहरी अधिकारी हुन् । कार्यक्षमतामा खासै राम्रो नमानिएपछि माओवादी नेताहरुको दबाबमा उनको सरुवा भएको हो । दरबारमार्ग र सोह्रखुट्टे प्रभागका इन्सपेक्टरले सो क्षेत्रभित्र पर्ने रेष्टुरेन्ट, डान्सबार र क्यासिनोबाट मासिक कम्तीमा दुई लाख रुपैया अतिरिक्त रुपमा कमाउने गरेको जानकार प्रहरी अधिकारीहरुको भनाई छ ।
त्यसैगरी सिंहदरबार प्रभागका इन्सपेक्टर सुधीर कुमार शाहीको थानकोट प्रभागमा सरुवा भएको छ । इन्सपेक्टर शाही हनुमानढोका, धरान, इलाका प्रहरी कार्यालय, नेपालगञ्ज, सिंहदरबार हुदै थानकोट पुगेका हुन् ।
सिंहदरबार प्रभागमा गृहमन्त्री गच्छादारको सिफारीसमा श्याम महतोको सरुवा भएको छ । उनी चन्द्रनिगाहपुरमा कार्यरत रहदा ५०हजार घुस खाएको आरोपमा कारबाही गरेर त्यहाबाट सरुवा भएका प्रहरी अधिकारी हुन् । त्यसैगरी र्कीर्तिपुर प्रभागमा महानगरीय प्रहरी ट्राफिक महाशाखाका ज्ञान कुमार महतोको सरुवा भएको छ ।
गौशला प्रभागमा काजमा कार्यरत अपिल बोहोराकै दरबन्दी कायम गरिएको छ । कमलपोखरी प्रभागमा सरुवा भएका इन्सपेक्टर कुँवर प्रहरी महानिरीक्षक शाहका पीए हुन् ।
त्यसैगरी विगत एक वर्षदेखी पोखराको बेदाममा कार्यरत शेर बहादुर चन्दको सोही कार्यलयमा दरबन्दी कायम गरिएको छ । प्रहरी महानिरीक्षकका भतिजा कोमल शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुख बनाइएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत चक्र बस्नेतको अर्काे आकर्षक कार्यालय भक्तपुरको जगाती वृत्तमा सरुवा भएको छ । त्यसैगरी इप्रका बनेपामा खेम आचार्यको सरुवा भएको छ ।
अपराध अनुसन्धानमा राम्रा मानिने कुमोद ढुङगेल, कृष्ण कोइराला, राजकुमार सिलवाल, यादब राज उप्रेती लगायतका इन्सपेक्टरको अपराध अनुसन्धान ब्यूरो (सिआईबींं) मा सरुवा भएको छ ।
आकर्षक अधिकांश कार्यालयमा भएको यस सरुवामा व्यापक रुपमा आर्थिक रुपमा चलखेल भएको छ । सोही कारण विगतमा बदनामा व्यक्तिहरुलाई पनि महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिइएको छ ।
गृहमन्त्रालयले एक साता अघि इन्सपेक्टर सरुवाको लागि मापदण्ड बनाएको भए पनि मापदण्डका कुनै पनि करुालाई सरुवाको आधार बनाइएको छैन । ‘पैसा र पावरका भरमा सरुवा गरिएको देखियो,’ सरुवाप्रति असुन्तुष्टि जनाउदै एक डिआईजीले भने,‘क्षमतावान् प्रहरीको पुरै वेवास्था भएको छ ।’
गौशला प्रभागमा हुँदा घुस खाएको अभियोगमा तत्कालिन एसपी रमेश खरेलले सरुवा गरेका इन्सपेक्टर सुमित खड्कालाई चितवनको वडा प्रहरी कार्यालय मुग्लिनमा सरुवा गरिएको छ । उनी दरबारमार्ग प्रभाग तथा नयाबानेश्वर प्रभागमा कार्यरत रहदा समेत घुस खाएको आरोपमा कारबाहीमा परेका थिए ।
त्यसैगरी दुई वर्षअघि दरबारमार्ग प्रभागमा रहदा घुस खाएको अभियोगमा निलम्बनमा परेका इन्सपेक्टर बामदेव गौतमलाई इप्रका वणगंगाको इनचार्ज बनाइएको छ ।
शान्ति मिसनबाट फर्केकालाई दुर्गम पठाउनुपर्ने प्रावधान भएपछि तीन महिनाअघि शान्ति मिसनबाट फर्किएका लोकहरी खनाललाई वडा प्रहरी कार्यालय मेचम्चीको प्रमुख बनाइएको छ ।
त्यसैगरी बालाजु वृत्तमा रहदा घुस खाएको अभियोगमा २४ घन्टामै सरुवा भएका सुभाष खडकालाइउ पनि इलाका प्रहरी कार्यालय मंगलटारको प्रमुख बनाइएको छ ।
प्रहरी प्रवक्ता डिआईजी बिनोद सिंह भने इन्सपेक्टरको सरुवा सकेसम्म राम्रो बनाउने प्रयास गरिएको दाबी गर्छन । पैसाको आधारमा कसैको सरुवा भएको पाइएमा उनीलाई कारबाही गर्ने उनको भनाई छ । ‘कसैले पैसा दिएर आफ्नो सरुवा गराएको पाइएको निलम्बन गरी तत्काल कारबाही हुन्छ,’ उनले भने,‘कसैले पैसा कमाउने उदेश्य राखेर सरुवा मागेको रहेछ भने उसले जागिरबाट हात धोए हुन्छ ।’ सकेसम्म कार्यप्रकृती र प्रहरीको कार्यक्षमतालाई सरुवाको आधार बनाइएको उनको भनाई छ ।
तीन दर्जनभन्दा इन्सपेक्टरको आकर्षक कार्यालयबाट आकर्षक नै कार्यलयमा सरुवा भएकोमा भने उनले केही अपवना भएको बताए । सरुवाको मापदण्डमा इन्चार्ज रहेकालाई इनचार्ज नै बनाएर सरुवा नगरिने उनले बताएका थिए । तर अधिकांश महत्वपूर्ण कार्यालयमा पहिले इन्चार्ज भएकालाई नै सरुवा गरिएको छ ।
स्रोतका अनुसार यसपटकको इन्सपेक्टरको सरुवामा गच्छादारका नोतदार पूर्वडिआईजी भक्तिनाथ माझि लगायत उनका सहयोगीको प्रमुख भूमिका थियो । गृहमन्त्रीका आफन्तहरु आफुकोमा पनि पैसा माग्दै सरुवाको अफर लिएर आएको तर पैसा बुझाउन नसक्दा दुर्गममा सरुवा भएको बताउछन् ।
गृहमन्त्री गच्छादारकै दबाबका कारण प्रहरी महानिरीषक शाहले तीन महिनादेखी तयारी गरेपनि इन्सपेक्टरको सरुवा गर्न सकेका थिएनन् । तर सरुवाको स्पष्ट अधिकार प्रहरी ऐनले उनलाई दिए पनि गच्छादारकै अधिकांश सिफारीसलाई स्वीकारेर उनले इन्सपेक्टरको सरुवा गरेका छन् ।
थप चार सय प्रहरी निरीक्षकको २÷३ दिन भित्रै सरुवा हुने प्रहरी प्रवक्ता सिंहले जानकारी दिए । कतिपय इन्सपेक्टरको भने दुर्गमबाट दुर्गममै सरुवा गरिएको छ । शालिमराम शर्माको जिल्ला प्रहरी कार्यालय म्यादीबाट जिप्रका रुकुममा। सागर बोहराको जिप्रका बाँकेबाट जिप्रका बझाङमा सरुवा गरिएको छ ।
No comments:
Post a Comment