Welcoming Nepal Army at PLA Camp |
मनोज सत्याल
काठमाण्डौँ । एक दशक शसस्त्र युद्ध लडेका एकीकृत नेकपा माआवादीका झन्डै १० हजार लडाकु अन्नत नेपाली सेनाको चेन अफ कमाण्ड मातहत आएका छन् । यो सँगै नेपालको शान्ति प्रक्रिया लगभग टुङ्गिएको छ । अब माओवादी जनमुक्ती सेनाको नामले चिनिने लडाकु नेपाली सेनाको नामले परिचित हुनेछन् । साथै लडाकुका शिविर र हतियार रहेको कन्टेनरको सुरक्षा समेत नेपाली सेनाले सुरु गरेको छ । माआवोदीका हाल कायम रहेका पन्ध्र शिविरको जिम्मा करिब डेढ हजार नेपाली सेना तथा सशस्त्र प्रहरीले लिएको छ ।
विशेष समितिको २०६८।१२।२८ को बैठक (८९ नं.) को निर्णय
Nepal Army |
- माओवादी सेनाका लडाकूहरू, हतियार एवम् कन्टेनरहरू, शिविर र शिविरमा रहेका भौतिक सामाग्रीहरू आजैका मितिदेखि नेपाल सरकारले नेपाली सेना मातहत ल्याउने ।
- शिविरहरूको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने ।
- समायोजनका लागि निर्धारण गरिएका केन्द्रहरूमा समायोजन कार्य प्रारम्भ गर्नु अघि विशेष समितिको पूर्व निर्णय अनुरुप स्वैच्छिक अवकासको प्रक्रिया जारी रहने र समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकूहरूलाई स्वैच्छिक अवकास वा पुनस्र्थापनको विकल्प रोज्ने अवसर कायमै राख्ने ।
- नेपाल सरकारले विशेष समिति अन्तर्गतको सचिवालयका संयोजकको परामर्शमा माओवादी सेनाका लडाकूहरूले पालना गर्नुपर्ने आवश्यक आचारसंहिता जारी गर्ने ।
सेना समायोजन विशेष समितिले मंगलबार निर्णय गरेलगत्तै झन्डै डेढ हजार सेना तथा सशस्त्र प्रहरीका जवान लडाकु, शिविर र हतियार रहेका कन्टेनरको सुरक्षामा खटिएका छन् । माओवादीका ७ मुख्य र २१ सहायक गरी २८ शिविरमध्ये १३ वटा सहायक शिविर खाली गरी त्यसको सुरक्षा व्यवस्था यसअघि नै सेना र सशस्त्र प्रहरीलाई दिइएको थियो। १७ हजार ७६ लडाकुमध्ये स्वैच्छिक अवकाश रोज्ने ७ हजार ३ सय ६५ को शिविरबाट औपचारिक बिदाइ भएपछि १३ सहायक शिविर खाली गरी बाँकी १५ मुख्य तथा सहायक शिविरमा समायोजन र पुनस्र्थापना रोज्ने ९ हजार ७ सय ११ लडाकु राखिएका थिए । पुनस्र्थापना रोज्ने लडाकु ६ जना छन् ।
बन्द गरिएका १३ सहायक शिविरमध्ये ८ वटाको सुरक्षा सशस्त्र प्रहरी र ५ वटाको नेपाली सेनाले गर्दै आएका थिए । बाँकी १५ शिविर, लडाकु, हतियार र त्यहाँ रहेका अन्य भौतिक सामग्रीको सुरक्षा जिम्मा दिने क्रममा ७ मुख्य र ५ सहायक गरी १२ वटा सेना र बाँकी ३ सशस्त्रलाई दिइएको छ ।
विशेष समितिको निर्णयअनुसार इलामको चुलाचुली, सिन्धुलीको दुधौली, उदयपुरको बेलसोत, चितवनको शक्तिखोर, नवलपरासीको झ्याल्टुङ्डाँडा र हात्तिखोर, सुर्खेतको दशरथपुर तथा लेखफर्सा, रोल्पाको दहवन, कैलाली बढैपुर र गोरङ्गेस्थित शिविरको सम्पूर्ण सुरक्षा सेनाले गर्ने भएको छ , इलाम , टाँडी, चितवन गैरीबारी र रोल्पा मसिनास्थित शिविरको सुरक्षा सशस्त्र प्रहरीले गर्ने भएको छ ।
बिषेश समिती सचिवालय सदस्यका अनुसार अब लडाकुले शिविरको सुरक्षार्थ खटिएका सेना तथा सशस्त्र प्रहरीसँग अनुमति लिएरमात्र भित्र तथा बाहिर गर्न सक्नेछन । सेनाकै रेखदेखमा विशेष समिति सचिवालयले पुनः एकपटक समायोजन रोज्ने लडाकुलाई स्वैच्छिक अवकाश तथा पुनस्र्थापना रोज्ने अवसर दिन पुनर्वर्गीकरण थाल्ने छ । स्वैच्छिक अवकास रोज्नेलाई तत्काल शिविरबाट बिदाइ र समायोजन रोज्नेलाई नजिकै रहेका सेनाको गणमा लागी समायोजन प्रक्रिया सुरु गरिनेछ ।
विशेष समितिले यसअघि नै इटहरीस्थित पूर्वी पृतना मुख्यालय, सिन्धुलीस्थित ९ नम्बर बाहिनी अड्डा, हेटौंडास्थित मध्य पृतना, बुटबलस्थित २२ नम्बर बाहिनी अड्डा, सुर्खेतस्थित मध्यपश्चिम पृतना मुख्यालय, दाङस्थित १९ नम्बर बाहिनी अड्डा र कैलाली स्थित ५ नम्बर बाहिनी अड्डालाई समायोजन केन्द्र निर्धारण गरिसकेको छ ।
यता माआवोदीकै बरिष्ट उपाध्यक्ष मोहन बैद्य पक्षले भने समायोजनको कार्यलाई आत्मसमर्पणको संज्ञा दिएको छ । उसले लडाकुको क्याम्पमा सेनालाइ प्रवेश गराउनु चरम बिर्सजनवाद भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री भट्टराइको पुत्ला दहन गर्ने जनाएको छ ।
No comments:
Post a Comment