अशोक दाहाल
काठमाडौं । सरकारले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको रकम कोषका कार्यकारी प्रमुखहरुले आफ्ना निकटका बैंङ्क र सहकारी संस्थालाई बाँडेको खुलासा भएको छ । युवा स्वरोजगारका लागि सरत र विना धितो कर्जा उपलब्ध गराउन सरकारले दिएको ३ अर्ब रुपैयाँ अर्थमन्त्री र कोषका कार्यकारी प्रमुखले स्पष्ट योजनाविनै आफू अनुकुलका बैंङ्ग र सहकारीमा बाँडेका हुन् ।
- साना किसान विकास बैंङ्क
- किष्ट बैङ्क
- मजदुर शहिद स्मृति उपभोक्ता सहकारी संस्था
- टुरिजम डेभलपमेन्ट बैंङ्क
- मधुवन सहकारी संस्था (गुल्मी)
२०६५ सालमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सुरु गरेको कोषमा त्यसपछिका अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू निकटका कर्मचारी र कार्यकारी निर्देशक नियुक्त गरेका थिए । पाण्डेले अर्थ मन्त्रालयबाट काजमा पठाएका कार्यकारी निर्देशक डा. डिल्लीराज अर्यालले पाण्डे निकटका ब्यक्तिहरुले सञ्चालनमा ल्याएको साना किसान विकास बैंङ्कलाई सबैभन्दा धेरै एक अर्ब रकम दिएका थिए । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले गत महिना माओवादी सिफारीशमा नियुक्त गरेका कार्यकारी उपाध्यक्ष प्रा. डा. पुण्यप्रसाख रेग्मीले पनि आफू अनुकुलका सहकारीलाई मात्र रकम निकासका गर्न सुरु गरेका छन् । कार्यकारी निर्देशक अर्यालले अनामनगरस्थित किष्ट बैङ्क स्वरोजगार कोषको १० करोड रकम जम्मा गरेर आफ्नी श्रीमतिलाई समेत बैंङ्कमै जागिर लगाएका थिए । किष्ट बैंङ्कमा श्रीमतिले काम गर्न नसकेपछि अर्यालले पुनः टुरिजम डेभलपमेन्ट बैंङ्कमा दुई करोड जम्मा गरेर श्रीमतिलाई जागिर लगाएको श्रोतको दावी छ । अर्याल कोषको गाडिमा चढेर अर्थ मन्त्रालयबाट प्राप्त गाडि भने श्रीमतिलाई प्रयोग गर्न दिँदै आएका थिए । तर नयाँ कार्यकारी उपाध्यक्ष आएपछि कोषको गाडि उपाध्यक्षले लिएका थिए ।
उपाध्यक्ष रेग्मीले माओवादी मजदुर नेताहरुले सञ्चालन गरेको मजदुर शहिद स्मृति उपभोक्ता सहकारी संस्थालाई ५ करोड निकासा गरेका थिए । त्यस्तै वाईसिएलका उपत्यका ईन्चार्ज एवं माओवादी सभासद् चन्द्र बहादुर थापा निटका ब्यक्तिहरुले सञ्चालन गरेको मधुवन सहकारी संस्था (गुल्मी)लाई बाख्रा पालनमा लगानी गर्ने प्रस्तावमा ३ करोड निकासा गरेका थिए । रेग्मीले आफ्नो कार्यकक्षका लागि मगाइएका सोफा सेट समेत घरमा लगेर घरमा प्रयोग गर्दै आएका सोफा सेट कार्यकक्षमा राखेको श्रोतले जानकारी दियो । कोषले हालसम्म बैंक र सहकारी संस्था गरि २८ वटा संस्था मार्फत करिब २ अर्ब निकासा गरिसकेको छ । तर कोषले बैंङ्कहरुम निकासा गरिसकेपनि बैंङ्कहरुले स्वरोजगार कोषको रकम न्युन संख्यामा मात्र लगानी गरेको कोषका उपाध्यक्ष रेग्मी स्विकार्छन् ।
रेग्मीलाई सरकारले कार्यकारी उपाध्यक्षमा नियुक्त गरेपछि कार्यकारी पदबारे विवाद उत्पन्न भएको थियो । कोषमा माओवादीको सिफारीशमा रेग्मीले कार्यकर्ता भर्ती गर्ने प्रयास गरेपनि अर्यालले दिएका थिएनन् । काजमा कोषमा काम गर्न आएका अर्याललाई अर्थ मन्त्रालयमै फिर्ता बोलाउन रेग्मीले दवाव दिएपनि अर्थसचिव कृष्णहरी बास्कोटाले मानेका थिएनन् । तर अर्थमन्त्रीको निर्देशनमा विहिबार अर्थ मन्त्रालयले अर्यालको काज फिर्ता लिएको छ ।
कोषमा तोडफोड
काठमाडा । स्वरोजगार कोषको रकम माओवादीले अफ्ना कार्यकर्तालाई मात्र बाँडेको भन्दै एमाले भातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले विहिबार कोषको कार्यालयमा तोडफोड गरेका थिए । कोषका उपाध्यष डा. पुण्यप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाउन गएका युवा संघका कार्यकर्ताले कोषमा तोडफोड गरेका हुन् ।
युथ फोर्सका नामले चिनिँदै आएको एमाले भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश नेतृत्वको टोलीले कोषका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाउन बोलाउँदा आउन नमानेपछि तालावन्दीको प्रयास गरेको थियो । कोषका उपाध्यक्ष रेग्मीले भने आफ्नो कार्यकक्षमा आएर ज्ञापनपत्र बुझाउन आग्रह गर्दा अस्विकार गरेपछि आफू पनि ज्ञापनपत्र बुझ्न नगएको बताएका छन् । प्रहरीले कार्यालयमा ताला लगाउनबाट रोक्ने प्रयास गरेपछि दोहोरो झडप भएको थियो । झडपमा परि प्रहरी निरिक्षक पवन भट्टराईको खुट्टा भाँचिएको छ । त्यस्तै अन्य दुई प्रहरी जवान र केही विद्यार्थी घाइते भएका छन् ।
घटनालगत्तै प्रहरीले तोडफोडमा संलग्न युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत र महासचिव निरज आचार्यसहित २० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा पाँच घण्टा राखेर साँझ रिहा गरिएको थियो । अध्यक्ष बस्नेतलाई गिरफ्तार गरेको विरोधमा युवा संघ र अनेराश्ववियू समर्थीत विद्यार्थीहरुल राजधानी लगायत देशका बिभिन्न शहरहरुमा प्रदर्शन गरेका थिए । प्रदर्शनीमार्गमा एमाले समर्थीत विद्यार्थी र युवा संगठनका कार्यकर्ताहरुले तीनवटा गाडिमा क्षती पु¥याएका छन् ।
यसैबीच युवा संघ नेपालले कोषको रकम दुरुपयोगको आवाज उठाउँदा आफूहरुमाथि दमन भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । युवा संघले कोषबाट माओवादी नेताहरुलाई १० करोड बाँडिएको भन्दै तुरुन्त फिर्ता गर्न माग गरेको छ । युवा संघले शुक्रबार दिउँसो कोषमा विरोध प्रदर्शनका साथै देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने र शनिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताएको छ । त्यस्तै मंसिर १८ गते गौशालादेखि प्रदर्शन र एअरपोर्ट नाका वन्द गर्ने युथफोर्सले जनाएको छ ।
No comments:
Post a Comment