Monday, April 16, 2012

जिब्रो छेड्न जात्रा – म हुँ साहासी जुजुभाई

JUJUBHAI BHAKTAPUR
सन्जिब दुलाल
भक्तपुर । दश इन्च लामो सियोले स्वाट्ट जिब्रो छेड्दा कस्तो होला ? एउटा सानो काडाँ बिझ्दा समेत तुरुक्कै आँसु झार्ने हामी सर्वसाधारणका लागी त यो आङ नै सिरिङ्ग पार्ने विषय हो । हुनत विगत चार बर्ष देखी भक्तपुरमा मनाईने जात्रामा जिब्रो छेड्ने जुजुभाई पनि डराउँछन् तर । उनले संस्कृतीलाई जीवन्त राख्नैका लागी यसबर्ष बैशाख २ गते मनाईएको जिब्रो छेड्ने जात्रामा पनि चौथो पटक जिब्रोमा प्वाल पारेर विभिन्न स्थान परिक्रमा गरे ।

भक्तपुर बोडेका ३१ वर्षीय जुजुभाई वाँसश्रेष्ठले फलामको १० ईन्च लामो तथा मोटो सियोले जिब्रो छेडाएका हुन् ।  विगत तीन वर्षदेखि जिब्रो छेड्न थालेका वाँसश्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न चौथो पटक जिब्रो छेड्ेको बताएका छन् । जात्रामा फलामको १० ईन्च लामो तथा मोटो सियो तीनवर्ष अघिसम्म जिब्रो छेड्दै आएका कृष्ण बागश्रेष्ठले यसवर्ष कर्मी नाइके भई जुजुभाईको जिब्रो छेडिदिनु भएको हो । उहाँले पनि यसअघि १२ बर्ष सम्म जिब्रो छेड्नु भएको थियो ।

वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्नेकर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च मनाई नाथखिँ बाजाका साथ जिब्रो छेड्ेको थियो । नकर्मीले एक महिनादेखि तेलमा डुबाएर राखेको १० ईन्च लामो सुइरो ल्याएर जुजुभाई समेतले सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिँ बाजा बनाउंँदै ल्याएपछि मञ्चमा राखी हजारौ व्यक्तिको अगाडि जिब्रो छेडिएको थियो ।

यसपछि बाँस एवं निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप (भ्यय) बालेर त्यसलाई काधमा बोकाई बोडेको टोलटोल घुमाइएको थियो । यसलाई टोलटोल घुमाई पाँचोगणेशको रथलाई भागुटोल स्थित महालक्ष्मी मन्दिरमा पु¥याएपछि नकर्मी नाइकेले जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिएका थिए । उक्त सियो गणेश मन्दिरमा ठोकिदिएको छ ।

त्यसपछि जिब्रो छ्ेड्ने व्यक्तिले नाट्यम्बरको पूजा गरेपछि मात्र बोल्न, खान र छुन हुने परम्परा रहेको छ । यो जात्रा विश्व प्रसिद्ध जात्रा पनि हो । जात्रा सञ्चालनका लागि यस वर्ष थिमी नगरपालिकाले रु ३० हजार रुपैया आर्थिक सहयोग गरेको छ भने, जिल्ला विकास समिति भक्तपुर १० हजार रुपैया सहयोग गरेको र अन्य केही निकायबाट सहयोग जुटाएको हो ।,


विगत केही वर्ष अघिसम्म जात्रा सञ्चालनका लागि लाग्ने सम्पूर्ण खर्च  जिब्रो छेड्ने व्यक्तिले व्यहोर्दै आउने गरेपनि तीन वर्ष देखि भने जात्रालाई जोगाई राख्न आर्थिक सहयोग संकलन सुरु गरेको थियो भने गत वर्ष जिब्रो छेड्ने जात्रा संचालन अक्षयकोष स्थापना गरेको थियो । यसवर्ष पनि जात्रा संचालनका लागि करिब रु ५० हजार खर्च लाग्ने अनुमान गरिएको बताउदै उहाँले अक्षयकोषमा ५० हजार रहेको र यसवर्ष पनि ५० हजार भन्दा बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जात्रामा सुर्यहरी अक्षयकोषले जात्रामौ आज १५ हजार रुपैया जात्रा संचालनका लागि जुजुभाईलाई हस्तान्तरण गरेका छन् ।
जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिए । त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे । बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो । भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।

पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाइन्छ । कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती  छ ।
एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।
वाचा अनुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती उल्लेख छ ।
चैत मसान्तको दिन महालक्ष्मी मन्दिर अगाडि लिङ्गो ठड्याई जात्राको सुरूआत गरिएपछि जिब्रो छेड्ने व्यक्तिले नीलबाराही जङ्गलबाट ल्याइएको काठ राति आगो बालेर समयबजी खाने प्रचलन रहेको छ ।
त्यसपछि जिब्रो छेड्नेको व्रत सुरू हुने हुँदा उनले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र आइमाईलाई छुन नहुने परम्परा रहेको छ भने छोएमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास छ ।
फोटो सन्जिब दुलाल
जिब्रो छेडिदै , जिब्रो छेडेपछि नगरको परिक्रमा गदै जुजु भाई बासँ श्रेष्ठ उनले यो ४औं पटक जिव्रो छेढेका हुन् ।

No comments: