मनोज सत्याल
काठमाण्डौँ । नेपाल सांस्कृतिक विवधता भएको मुलुक हो । एक स्थानमा एकथरी पर्व मनाईरहेको अवस्थामा अर्को स्थानमा भन्ने एउटै धर्म अन्तरगर्तको अर्को पर्व मनाइन्छ र फरक देवताको पुजा गरिन्छ । नेपालको सुदूरपश्चिममा पनि भदौको समयमा शिव र पार्वतिको पुजा गरेर गौरा पर्व मनाइन्छ । वास्तवमा के हो त गौरा पर्व आउनुस् थप पढौँ ।
गौरापर्वको पहिलो दिन महिलाले तामाका भाँडामा पाँच प्रकारका अन्न एकै ठाउँमा भिजाएर गौराको प्रारम्भ गरिन्छ । गहँु, केराउ, गहत, मास र गुराँसलगायतका भिजाइएका पाँच अन्नलाई बिरुडा भन्ने गरिएको पण्डित बलराम पनेरुले बताउनुभयो । सो पर्वमा महिलाले निराहार बसेर शिवपार्वतीको संयुक्त रुपमा पूजन गरी भगवान्सँग मनावाञ्छित फल माग्ने गर्छन् । पौराणिककालमा शिवलाई प्राप्त गर्नका लागि पार्वतीले निराहार बसेको मान्यताका कारण गौरापर्व मनाइने गरिएको पण्डित पनेरुले बताउनुभयो ।
गौरापर्वको दोस्रो दिन षष्ठीमा तामाको भाँडामा भिजाइएको बिरुडालाई व्रतालु महिलाले पानीको मुहान र पधेँरामा धुने तथा सप्तमीका दिन गौरालाई बाँस वा निगालाको डालामा प्रतिस्थापन गर्छन् । गौरा भित्र्याएपछि पूजा अर्चना गरी महिलाले दुवधागो चढाउने गर्छन् ।
गौराष्टमीका दिन व्रत बसेका महिलाले बिहानैदेखि गौरा मनाउने स्थलमा फाग झोडा सगुन गाएर पूजा गर्छन् । पुरोहितले अभिषेक गरेको दुवधागो महिलाले घाँटीमा लगाउने चलन रहेको मीना ठगुन्नाले बताउनुभयो । सोही दिन तामाको भाँडामा भिजाइएको पाँच अन्नको बिरुडा गौरापूजन गरेर घर परिवारका सदस्यको टाउका पुज्ने चलन रहेको उहाँले बताउनुभयो ।
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुखशान्तिका लागि व्रत बसी पूजा गर्ने चलन छ । पूजनपछि बाजागाजासहित गौरा विसर्जन गर्ने गरिन्छ । गौरापर्वमा पौराणिककालका गीति कथा, गायन र परम्परागत नृत्यमार्फतबाट रमाइलो गरिन्छ भने देउडामा मायापीरतिका भाका, राजनीतिक व्यङ्ग र जनचेतना फैलाउने सन्देश दिने गरिन्छ । केही समययतादेखि मौलिक सँस्कृतिप्रति चासो नदिने युवाले पनि हाल आएर सँस्कृतिप्रति चाख राख्न थालेको स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताउनुभयो ।
यो पर्व सुदूपश्चिम क्षेत्रमा मात्रै नभएर भारतको कुमाउँ गढवाल क्षेत्रमा समेत धुमधामका साथ मनाइने गरिन्छ । गौरापर्वको अवसरमा विदेशमा गएकाहरु घर फर्कने, विवाहिताहरु माइतमा जाने र देउडा, ढुस्को खेलेर रमाइलो गर्ने चलन छ । सोही अवसरमा महिलाले अठेवाली मनाउनका लागि गौरा र महेश्वरको प्रतिमा टाउकामा राखेर परम्परागत तरिकाले नाच्नेसमेत गर्र्दै आएका छन्, जसलाई गौरा नाचसमेत भन्ने गरिन्छ ।
गौराको पूजन विधि भने ठाउँ र चलनअनुसार फरक रहने गरेको छ । पश्चिमी सीमा नाका गड्डाचौकीबाट गौरापर्वका लागि घर फर्कनेहरुको सङ्ख्या उल्लेख्य रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नेत्रप्रसाद भट्टले बताउनुभयो ।
No comments:
Post a Comment