Monday, May 19, 2014

न्याय, समानता र नयाँ शक्तिको बहस

प्रमोद सापकोटा
अष्ट्रेलिया। केहि समय भयो विश्वभरी छरिएर बसेका नेपालीहरु नयाँ शक्तीको बहसमा जुटेका छन्। राष्ट्रिय अन्तराष्ट्रिय एरिनामा नयाँ शक्तीको उदय र आवश्यकताको बहस भइरहँदा यसको उद्देश्य आवश्यकता र भोलीका दिनमा यसको व्यवस्थापनको विषयमा ध्यान दिएको खासै पढ्न हेर्न वा सुन्न पाइएको छैन। आखिर के का लागी नयाँ शक्ती ? के हो यसको उद्देश्य ? किन आवश्यक छ नयाँ शक्ती ? न्याय समानता र सम्बृद्धिको लागी भनिएको नयाँ शक्तीको आधार के हो ? यस्ता यावत प्रश्नहरु अझै अनुत्तरित नै छन्।नेपालले प्रजातान्त्रीक आन्दोल र न्युनतम आधारभुत आवश्यकता सहित समानताको लडाईं लडेको आधारमा हेर्ने हो भने अहिलेको तेस्रो पुस्तासम्म आइपुग्दा हामीले पाएका र गुमाएका विषयहरुको न्यायोचित मुल्यांकन गर्नुपर्ने हुन्छ।

नयाँ शक्ती आधार के ?
हामीले पढेको सुनेको वा अग्रजहरुको अनुभवका आधारमा नेपाल स्वतन्त्रताको अभ्यास गरिरहेको एक परनिर्भर राष्ट्र हो भन्दा गलत अर्थ नलाग्ला। यसको आर्थिक सांस्कृतीक मात्र नभएर वैचारीक आधार पनि परनिर्भरतामा नै अडेको छ। यसो भन्दै गर्दा कहिल्यै कसैको अधिनमा नरहेको स्वतन्त्र राष्ट्रको रटान लगाउन पछि नपर्ने हाम्रो शिर लज्जाले झुक्नुपर्ने हो। तर यसका ठोस आधारहरु छन्। यो मिथ्या आरोप हैन। हामी नुन देखि सुनसम्म परनिर्भर छौं। यति मात्र हैन वैचारीक मन्थनको विषय समेत हामीलाई अरु कसैले दिनुपर्छ। चाहे राजनितीक दर्शन हुन् वा आर्थीक एजेण्डा हामी कसै न कसैसँग आश्रीत छौं। अझ किटेर भन्नु पर्दा ७५ प्रतिशत हाम्रो भुभाग जोडीएको भारत यसको केन्द्रमा छ। हामी बहस गर्ने प्रयत्न गर्छौं निस्कर्स उसले निकाल्छ। हामी अघि बढ्ने प्रयत्न गर्छौं औंला समातेर बाटो उसले देखाउँछ। यहाँसम्म कि बन्दुक काँधमा राखेर निशाना हामी लागाउँछौं ट्रिगर उसले दबाउँछ। परनिर्भरताको यो हदलाई चिर्न सक्ने ल्याकत र सिद्धान्त बोकेका कोहि छन् भने, सम्भव छ नयाँ शक्तिको उदय।
  •  नयाँ शक्ति जन्मियो नै भने पनि स्पस्ट बहुमत वा शक्तीको अभावमा अर्को दश वर्ष देशले यस्तै अराजकता र सामाजिक कुरितिको सामना गर्नुपर्नेछ। यसको ठीक विपरित जागरुक र चेत भएका व्यक्तीहरुको समुह अहिले भएको राजनितिक दलहरुको झण्डामुनि बसेर आफ्नै दलभित्रको फोहोर सफा गर्दै निर्णायक भुमीकामा पुग्ने हो भने किन चलाउनुपर्यो नयाँ शक्तिको बहस?
पत्रकार रविन्द्र मिश्रको भाषामा भन्ने हो भने आँखामा सिद्धान्तको पट्टि बानेका सैद्धान्तीक अन्धाहरुको झुण्डको विवेक सम्मत आलोचना गर्दै न्यायसम्मत राष्ट्रको कल्पना गर्न सक्ने कुनै मार्क्स लेनिन वा गान्धि जन्मन्छ भने, सम्भव छ नयाँ शक्तीको उदय। हैन भने फगत आक्रोश कारुणीकता वा भावावेगको प्रतिनिधित्व गर्ने नयाँ शक्ति इतिहासमा धेरै पटक जन्मीसके जसको मुल्य नेपाली समाजले चुकाइसकेको छ। उदाहरणका लागी एउटा सत्य के हो भने, कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन नसक्दा सरकारको स्थायीत्व रहन्न। त्यसकै कारण राष्ट्र अनिर्णयको बन्दि बन्छ।
अस्थीरताले दिर्घकालीन योजनामा  आघात त पार्छ नै वर्तमान सामाजिक सुरक्षाको लागी समेत चुनौंती सिर्जना हुन्छ। त्यसैगरी न्यायको अभावमा छाडातन्त्रको हालीमुहाली त हुने भैहाल्यो सँगसँगै निस्क्रीय शासन र मनपरितन्त्रले भ्रष्टाचार र नैतिक पतनलाई टेवा दिन्छ। सबैभन्दा डरलाग्दो समस्या त के हो भने समाजमा वैचारिक दारिद्रताले प्रश्रय पाउँछ जहाँ सामाजीक मुल्य र मान्यताको धज्जी उड्छ। अनैतिक वा अमर्यादित बाटोबाट आफ्नो स्वार्थ सिद्ध गर्न लागी परेकाहरुको प्रभावमा न्याय नैतिकता र सामाजीक मर्यादाको अस्मिता लुटिन्छ। यदि केवल यस्तै मत विभाजनका लागी र मुठ्ठीभर व्यक्तीहरुलाई उच्च पदको आसनमा राख्नका लागी केही स्वार्थी व्यक्तिहरुको झुण्डले नयाँ शक्तीको बहस चलाएको हो भने, सम्भव छैन नयाँ शक्तीको बहस। मधेशवादि दल सहित अन्य विभीन्न झण्डामुनि बसेका दलहरु जस्तो विखण्डित व्यक्ति/जाती/क्षेत्र केन्द्रित र सिद्धान्त वा दर्शनविहिन राजनितीको टेण्डरका लागी नयाँ शक्तिको बहस चलाइएको हो भने खबरदार फेरी नयाँ शक्तीको बहसको नाममा अर्को दश वर्ष राष्ट्रलाई अनिर्णयको बन्दि बनाइएला।
त्यसो त के अब पुराना दलहरुको रवैयाले आक्रान्त अधिकांस राष्ट्र चिन्तक/बुद्धिजिविहरुले नायाँ शक्तिका लागी चलाएको बहस वाहियात हो ? यस्तो कदापी हुनै सक्दैन। तुलनात्मक रुपमा सत्य के हो भने कुनै पनि व्यक्ती वा समाजको विचार वा सिद्धान्त कोठे बहसले मात्र मात्र देश बन्दै बन्दैन। यसको ज्वलन्त उदाहरण हो बागमती सफाइ अभियान। लिलामणी लिलामणी पौडेल लगायतका केही अडीग व्यक्तीले बागमतीको दुर्गन्धित फोहोरमा डुबेर पचासौं हप्तासम्म त्यहाँ कुहिएको सिनो सहितका फोहोर नपन्छाएको भए आज बाग्मतिको यो रुप देख्न सम्भव नै थिएन। यहाँ लिलामणी मात्र पात्रको रुपमा लिइएको हो। यसअघि पनि सफाइका प्रयास नभएका भने होइनन्। बागमती सुधार आयोजना अन्तर्गतको ढल सुधार आयोजना आजभन्दा १० वर्ष अगाडी नै संचालनमा आइसकेको थियो। जसका लागी राज्यको करोडौं लगानी परेको छ। प्रश्न सरल छ किन भएन त बाग्मतीको सुधार ? उत्तर सरल छ। प्रयास सबैले गरे। ठूला ठूला नदिहरुलाई कसरि स्वच्छ राखिन्छ भन्ने विषयमा निकै ठूला सभा सेमिनार पनि भए तर बागमतिमा पसेर कुहिएको सिनो निकाल्ने हिम्मत कसैले देखाएन। बागमतीको कुहिएको सिनो निकाल्ने आँट बोकेका व्यक्तीहरु जस्तै, यदि कसैले निकाश नै चाहेको हो भने वैचारिक दारिद्रता, नैतिक पतन र भ्रष्ट राजनितीक दलभित्रको कुहिएको सिनो निकाल्ने ल्याकत भएका जुझारु व्यक्ती वा शक्तीको खाँचो छ। अहिले विद्दयमान राजनितीक दलहरुभित्र पसेर सिनो निकाल्न सक्ने व्यक्तीको खाँचो छ। जनताको विश्वासमा पार्टि दल वा व्यक्तीहरुको झुण्डभित्र पसेर त्यसभित्रका कुहिएका सिनो पञ्छाउने नायकको आवश्यकता छ। यदि कुनै पनि व्यक्ती वा नागरिकको झुण्डले नयाँ शक्तिको बहसलाई बढाएर नयाँ शक्ति जन्मियो नै भने पनि स्पस्ट बहुमत वा शक्तीको अभावमा अर्को दश वर्ष देशले यस्तै अराजकता र सामाजिक कुरितिको सामना गर्नुपर्नेछ। यसको ठीक विपरित जागरुक र चेत भएका व्यक्तीहरुको समुह अहिले भएको राजनितिक दलहरुको झण्डामुनि बसेर आफ्नै दलभित्रको फोहोर सफा गर्दै निर्णायक भुमीकामा पुग्ने हो भने किन चलाउनुपर्यो नयाँ शक्तिको बहस? फेरी नयाँ शक्ति नै बने पनि ०७ सालको कांग्रेस ४६ को बामपन्थि वा ६२/६३ को माओवादिले जस्तै जनताको मुद्दालाई स्खलित नगाराउलान् भन्ने के ग्यारेन्टि छ ? तर यसको विपरित यदि दुई वा तीन दलभित्रै अत्यन्तै सचेत व्यक्तीहरु जो नयाँ शक्तिको आवश्यकता देखिरहेछन् उनिहरुको दलगत प्रवेशले मात्र परिवर्तन सम्भव छ। अहिले भएकै दलहरुको सिद्धान्त वा दर्शनको ठेली पल्टाउँदै जाँदा कुनै पनि दलका आदर्श र सिद्धान्त मार्क्स गान्धि वा लेनिनका तात्कालीन समयका कालजयी वाणीभन्दा कम छैनन्। अभाव छ त केवल त्यसको कार्यान्वयनको। आवश्यकता छ त केवल बाग्मतीमा डुबेर सिनो निकाल्ने कृष्णहरिको। यदि अहिले अस्तित्वमा भएका दलहरु बिच मात्र प्रतिश्पर्धा रहने हो भने गुण वा दोषका आधारमा कुनै एक दलले स्पस्ट बहुमत ल्याउने सम्भावना अवश्य रहन्छ। अन्यथा फेरी पनि  क्रान्तिकारी नारा लिएर उदाएका चाहे समाजवादि हुन् वा साम्यवादि, लोककल्याणकारी हुन् वा सामाजीक न्यायका अगुवा, न्याय सम्मत राज्यको बाटो बनाउन नसक्दा निर्लज्ज पछारिनेछन्। यसको साक्षी इतिहास छ।
सिद्धान्तको बहस
यहाँ समस्या सिद्धान्तको हैन, समस्या छ त केवल व्यक्ति समाज झुण्ड वा भिँडको नियतको। नियत स्पस्ट नभएका अपारदर्शी व्यक्तिहरुको झुण्डले अर्को इतिहास लेख्न सक्छ भन्ने भ्रम पाल्नु हाम्रो मुर्खता हो। उदाहरणका लागी मधेश केन्द्रित भावावेग र तात्कालीन माओवादिको जातीय नाराको आवेगमा जन्मीएका मधेसी दलहरुलाई लिन सकिन्छ। एक किसिमले हेर्दा उनिहरुले तात्कालीन माओवादिको मधेस नितीको विरोधका लागी विद्रोह गरे र केही हदसम्म सफल पनि भए तर विडम्बना परिवर्तन स्थाइ हुनै सकेन। कारण त्यसको जग बलियो थिएन। त्यस समयमा जन्मीएका मधेसवादि दलहरु मधेस र मधेसवासिको हितका लागी जन्मिएकै थिएनन् भन्ने गतिलो प्रमाणका रुपमा आज दल विभाजनका अनेक टुक्राहरु साक्षी छन्। । त्यो त केवल मुठ्ठीभर व्यक्तिहरुको संकल्पमा पद, पैसा र शक्तिका लागी दिशाहिन बाटो हिंडेका सिमीत व्यक्तीहरुको आदर्श र दर्शनविहिन मानसिकताको उपज थियो भन्ने स्पस्ट पार्न नपर्ला। त्यसो त खै त तथाकथित क्रान्तिकारीता ? मुठ्ठीभर मानिसको आसक्ती र पद लोलुपताको ह्रिसक खेलमा पिसीएका जनताले के फेरी यस्ता लफ्फावाजीकै आधारमा नयाँ शक्तिलाई साथ दिन्छन् ? अबको नेपालमा सायद यो सम्भावना रहँदैन। आजका नेपाली लफ्फावाजी हैन, अठोट चाहन्छन्। घृणाले जन्माएको दलिय झुण्ड हैन, संगठनात्मक शक्ती चाहन्छन् जसले उनिहरुको स्वतन्त्रतासँगै न्युनतम आधारभुत आवश्यकताको रक्षा गर्ने साहस गरोस्। छ कोही माइकालाल जसले नयाँ शक्ती जन्माउने सपनाको महलमा आधारहिन जनविश्वासको लिलामी नगरोस् ? यदि कोही पारदर्शि भएर यी यावत समस्याबीच आफुलाई चोख्याएर लग्ने हिम्मत गर्छ भने, सम्भव छ नयाँ शक्तिको उदय।
पारदर्शिता
पारदर्शिताले नियतको स्पस्ट चित्र बनाउन मद्दत गर्छ। तर के पारदर्शी व्यक्तीले न्याय सम्मत राज्यको निर्माणको भारी बोक्न सक्छन् ? अहँ यो सम्भव छैन। किनकी पारदर्शीताले नेतृत्वलाई केवल आड भरोसा दिने हो। सफल नेतृत्वको लागी पारदर्शिता सँगै सबल नेतृत्व दुरदर्शी सोच र द्रुत निर्णयशक्तीको आवश्यकता रहन्छ। यी गुण बिना सफल नेतृत्व सहित समानता र न्यायसँगत राज्यको कल्पना गर्नु निकै हास्यासपद हुन्छ। तर यी सबै गुण एउटै व्यक्ती वा संस्थामा खोज्नु देवलोकको कल्पना गर्नु हो। आजको नेपालमा व्यक्तीले दल चलाउँछ दलको निती नियम वा आदर्शले चल्ने व्यक्ति देख्न मुस्किल छ। यदि त्यस्ता नेता जन्मिए भने ती राजनेता कहलाईन्छन् जसको जन्म इतिहासको निश्चित कालखडमा आफैं भएको छ। चाहे किसुनजी जस्ता साधु नेता हुन् वा मनमोहन जस्ता क्रान्तिकारी, मदन भण्डारी जस्ता सामाजीक न्याय र समानतको सिद्धान्त नै परिवर्तन गर्न सक्ने व्यक्ती सायदै अहिलेको दिशाहिन र आवेगको राजनितीले जन्माउँछ। कर्तव्य र निष्ठाका मुर्ती गणेशमानजस्ता नेता नजन्मिनु त दुर्भाग्य नै मान्नुपर्छ। अझै आदर्शको राजनितीमा सबैलाई मेलमिलापको मालामा उन्ने अटल विश्वासका साथ कुनै पनि दल व्यक्तीको विचारमा नभएर दलिय सिद्धान्तको डोरीको सहायतामा हिंड्नुपर्छ भन्ने विचार राख्ने वि पी को अभाव अवश्य खड्किएको छ।
नयाँ शक्तीको विषय नेतृत्व शक्ती सिद्धान्त वा दर्शनमा मात्र सिमीत रहँदैन। न त पारदर्शिताको पगरी गुथेकै भरमा नयाँ शक्ती जन्माउँछु भन्नु जायज हुन्छ। विषय अनेक हुन सक्छन्। दर्शन भिन्न हुन सक्छन् तर माटो सुहाउँदो आह्वान गर्न नसक्ने दर्शनले धर्तीको धुलो चाट्नुपर्छ। तितो अवश्य छ तर सत्य यहि हो। वैद्द माओवादीको भविष्य भोली त्यसै नहोला भन्न सकिन्न। धार्मीक सहिष्णुता र सांस्कृतीक भाइचारालाई आघात पुर्याउने कुनै पनि दर्शन नेपाली राजनितीमा स्थाइ हुनै सक्दैन। अझै उग्रवादको कुनै पनि खोल वा आवरणमा संचालीत पार्टि वा दर्शनले भोली हामीलाई कहाँ पुर्याउँछ एक पटक अवश्य गहिरिएर सोच्नुपर्ने हुन्छ। फुटाउ र राज्य गर को रणनितीमा हिँडेका जातीवादीहरुले बुझ्नुपर्ने हुन्छ की २१ औं शताब्दिका नेपालीहरुले १८औं शताब्दिको रणनितीलाई धोती लागाइदिनेछन्। यो यथार्थ दोस्रो संविधानसभाले चित्रण गरिसकेको छ।
समानता र सामाजीक न्याय
प्रचण्ड माओवादि र वैद्द माओवादि जस्ता दलले के बुझ्न जरुरी छ भने अहिलेको समाज समानता हैन सामाजिक न्याय चाहन्छ। समानता र सामजिक न्याय अवश्य नै फरक विषय हुन्। अहिले नेपाली राजनितीको अस्तित्वमा रहेको कुनै पनि दलले नेपालीहरुको सामाजिक न्याय र समानताको भिन्नता बुझाउनै सकेका छैनन्। यहाँ समानताको रटान लगाउँदा चेप्टे नाक हुनेलाई चुच्चे नाकले असमान व्यवहार गर्यो भन्ने भ्रम फैलाईंदैछ वा भनौं मधेसमा बस्नेलाई पहाडीयाले र हिमालमा बस्नेलाई मधेसीले असमान व्यवहार गर्यो भन्ने ढोल पिटिँदैछ। यहाँ समानताको ठूला नाराले जातिय लैंगिक वा क्षेत्रिय आधारमा विभेद गरियो भन्ने हउवा फैलाउँदै समानताको परिभाषाको गलत व्याख्या गरिँदै छ। के अहिले चलिरहेको समानताको बहस साँच्चै समान व्यवहारको लागी हो ? पक्कै हैन। अपवादलाई छाडेर हेर्ने हो भने यो बहस राजनितिक स्वार्थ पुरा गर्ने र व्यक्ती व्यक्तिविचको कटुता बढाउने दलहरुको साधन हो साध्य हैन।  कुनै पनि संस्कृतिलाई प्राथमिकता दिनु र अवसर हेरीकन कुनै एउटा जाती लिङ्ग वा भाषालाई उचाल्नुले राजनितीक दलहरुको प्रयोग केवल आपराधिक झुण्डको स्वार्थ सिद्ध गर्ने साधन भएको पुष्टि गर्छ। व्यक्ति वा समाजमा वैमनष्य जगाउने यो कस्तो किसिमको समानताको बहस हुँदैछ आजको दिनमा ? के समानताका लागि बाँस काटेर निगालोको उचाइमा सिमित गर्ने? समानताका लागी परिश्रमी उद्दोगीले निद्रा र पारिवारीक जीवनको मिठो सपना कटाएर जम्मा गरेको पैसा लगेर गरिबका नाममा तिघ्रा पल्टाएर जाँडको भट्टिमा बस्ने तिघ्रेको पेट भर्ने ? हामी कस्तो समानताको वकालत गर्दै छौं ? अहिलेको विश्वमा मानिस समानता हैन सामाजीक न्याय चाहन्छन्। यदि कोही नयाँ शक्तिको स्थापना भएछ नै भने पनि के उनिहरु जनमञ्चमा गएर सामाजिक न्याय, प्रत्येक व्यक्तिले बाँच्न पाउने अधिकार र न्युनतम आधारभुत आवश्यकताको लागी लड्छौं भन्ने सपथ खान सक्छन्। अझै महत्वपूर्ण कुरा त के हो भने नयाँ शक्ति को उदय हुँदैमा पुराना अस्ताउने होइनन्। अझै ती पुराना थोत्रा दर्शनहरु जसले मानवलाई मानवसँग छुट्यायो, नेप्टेलाई चुच्चेसँग वैरभाव राख्न प्रेरित गर्यो, एउटा जातिलाई उचालेर अर्को जातिको अस्तित्वमाथी प्रश्न उठायो, के उनिहरुमा त्यो ताकत छ जसले भत्किएर जर्जर भएका सामाजीक सद्भावलाई समेटेर समाजिक र साम्कृतिक सहिष्णुताको युगमा ल्याउन सकुन। यदि यो हिम्मत गर्न सक्दैनन् भने के आवश्यकता नयाँ शक्तीको ? प्रत्येक दलभित्र कोहि न कोहि माउ दलका टाउकेहरुको विचार वा दर्शनलाई ठिंगुरा लगाउन सक्षम देखिएका छन्। किन उनिहरुको काँधमा काँध मिलाएर, होस्टेमा हैसे गरेर अहिले भएकै दलमा संस्थागत प्रवेश गर्दै तीनिहरुलाई नसुधार्ने ?
नयाँ संरचना बनाउन सहज हुन्न। भत्किएको संरचनालाई पुन निर्माण गर्न अझै कठिन हुन्छ। त्यसो भन्दैमा सँधै नयाँ दलको सिर्जना गर्दै जाने हो भने उसको पनि कुनै समयमा क्रान्तिकारी भनिएका अहिलेकै दलहरुको हविगत नहोला भन्ने कसले ठोकुवा गर्न सक्छ ? यसकारण नयाँ शक्तिको हैन नयाँ सोचको आवश्यकता हो। नयाँ दलको नयाँ दर्शन हैन, पुराना दर्शनका ठेलीलाई पुन मुद्रण गर्नुपर्ने समय हो। कारण कुनै पनि दर्शन वा सिद्धान्त आफैंमा गलत छैनन्। केवल बाटाहरु फरक छन्। अझै स्पस्ट भन्नुपर्दा २० वर्षपछि नयाँ बाग्मतिको फोहोर सफा गर्ने योजना हैन अहिलेको बाग्मतीको कुहिएको सिनो फाल्ने आँट विश्वास र अठोट चाहिएको छ। नयाँ शक्तिको बजार मुल्य हैन पुरानाको बजार व्यवस्थापन गर्नुछ। विचार हैन विश्वासको खाँचो छ। समानता होइन सामाजिक न्यायको घण्ट बजाउनु छ। सबलाई चेतना भया।

No comments: