Sunday, April 3, 2011

चैत्र २० गते २०६७

एमाले स्थायी समितीद्धारा मन्त्री चयनको जिम्मा प्रधानमन्त्री खनाललाई

UML Party Office, Balkhu, Kathmandu
 काठमाण्डौ, २० चैत्र । सरकारमा पठाउने नेताहरु चयनका लागी बसेको एमाले स्थायी कमिटी बैठक नेता चयनमा असफल भएको छ । यद्यपी बैठकले प्रधानमन्त्री झलनाथ खनाललाइ मन्त्री बन्ने नेताहरु चयनको जिम्मा दिएको छ । बैठकपछि स्थायी समिती सदस्य बामदेव गौतमले आज मन्त्री चयन गर्न नसकिएको बताउनुभयो । गौतमले भन्नुभयो ः अब प्रधानमन्त्री खनालले सबै स्थायी समिती सदस्यहरुसँग एक्ला एक्लै छलफल गरेर मन्त्रीको टुङ्गो लगाउने जिम्मा दिनुभयो ।

पार्टि कार्यलय बल्खुमा अबेर सुरु भएको बैठकमा पार्टिमा मन्त्रीको आकाक्षिंको संख्यामा भएको वृद्धि तथा ओली पक्ष र खनालपक्षले आ आफ्ना पक्षका नेताहरुलाइ मन्त्रालय सिफारिस गरेपछि बैठक निष्कर्ष विहिन बनेको हो । एमालेमा बरिष्ट नेता माधव कुमार नेपाल, प्रभावशाली नेता केपी ओली तथा प्रधानमन्त्री झलनाथ खनाल बिच मन्त्री चयनको विषयलाइ लिएर आन्तरिक संघर्ष चल्दै आएको छ । सरकारमा एमालेका तर्फबाट तीन जना मन्त्रीहरु सहभागि भइसकेपनि बाँकी ५ जना मन्त्रीहरुका बिषयमा सहमति जुट्न सकेको छैन । आइतबारको बैठकमा बोल्ने स्थायी समिति सदस्यहरुले पाँच जनाको स्थानमा दूई दर्जन बढिको नाम प्रस्ताव गरेको स्रोतले जानकारी दियो । साथै बैठकले आउँदो बैशाख १४ देखी १६ गते सम्म केन्द्रीय कमिटी बैठक समेत आह्वान गरेको छ ।

माओवादी स्थाइ कमिटिको आवासिय बैठक निश्कर्ष विहिनः

सिन्धुपाल्चोक, २० चैत्र । एकीकृत नेकपा माओवादीको सिन्धुपाल्चोकको सुकुटेमा दुइ दिन सम्म चलेको स्थाइ कमिटि सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाउन असफल भएको छ । पार्टी भीत्रको विबाद र सरकारमा जाने ब्यक्तिको टुङ्गो लगाउन हिजोदेखि बसेको बैठक त्यसबारे टुङ्गो लगाउन पदाधिकारी बैठकलाइ जिम्मा दिदँै सकिएको हो ।

यद्यपी माओवादी नेताहरुले स्थाइ कमिटि बैठकले पार्टीलाई एकतावद्ध बनाई केन्द्रीय समितिले पारित गरेको नीति र कार्ययोजनालाई एक ढिक्का भएर कार्यान्वयन गर्ने निर्णय गरेको दावी गरेका छन ।

बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश निकै गम्भीर मोडवाट गुज्रीरहेको ठहरगर्दै देशी विदेशी षडयन्त्र परास्तगर्न पार्टी निर्णयको कार्यान्वयनगर्न एक ढिक्का भएर जाने निर्णय भएको बताउनुभयो । पत्रकार सम्मेलनमा उपाध्यक्ष वाबुराम भट्टराइले पार्टी फुटाउन लागेको भन्ने आरोप निराधार भएको स्पष्टगर्दै त्यस्तो दिवा सप्ना नदेख्न आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले पार्टीमा फुटको हल्ला प्रतिक्रियावादीहरुले अतिरञ्जित गरेको प्रजारबाजीमात्र भएको टिप्पणी गर्नुभयो । स्थायी समिति बैठकमा सबै नेताले खुलेर छलफल र बहस गरेकाले अब केन्द्रीय समितिले पारित गरेका योजनालाई दृढतापूर्वक कार्यान्वयन हुने प्रचण्डले दावी थियो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसंग गृहमन्त्रालयका विषयमा एकपटक फेरि छलफल गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसले ७ बुंदे सहमति खारेज गर्न माग गरेपनि त्यो संभव नभएको भन्दै अध्यक्ष प्रचण्डले सात बुंदेमा अड्को नथापी सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गर्नुभयो । सातबुदे सहमतिको आगमै देशले सरकार पाएको दावीगर्दै यसको विरोधगर्नु देशलाइ फेरी सरकार विहिनताको अबस्थामा फर्काउने षडयन्त्र भएको प्रचण्डको भनाइ थियो । उहांले संविधान बनाउनका लागि सबै पार्टीको प्रतिवद्धता भए निर्धारित समयमा नै संविधान बन्ने जिकिर गर्नुभयो । पत्रकार सम्मेलनमा प्रचण्ड र भट्टराइले तोकिएको समयमै संविधान जारी गर्नुपर्ने बताएका थिए ।

भट्टराईले पार्टीभित्रका मतभेद र अन्तसंघर्षलाई स्वस्थ्य वैचारि बहसबाट अन्त्य गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई सफल बनाउने दृढता व्यक्त गर्नुभयो । पार्टीको नीति कार्यान्वयन गर्नु पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यको धर्म भएको उहांले बताउनुभयो । यद्यपी उहाँले पार्टीले जनविद्रोहको नीति पारित गरि नसकेको जीकिर गर्नुभयो । यसैगरी स्थाइ कमिटि बैठकले यही चैत्र २४ गते देशका विभिन्न ठाउंमा जनआन्दोलन दिवस मनाउने निर्णय गरेको प्रचण्डले बताउनुभयो ।

पार्टीभीत्र आन्तरिक विबाद चुलिएपछि त्यसवारे छलफलगर्न माओवादी स्थाइ कमिटिका सदस्यहरु बैठकगर्न सिन्धुपाल्चोकको एक रिसोर्टमा पुगेका थिए । स्रोतका अनुसार मजदुर संगठन भीत्रको विबादका कारण बैठक कुनै निश्कर्षमा पुग्न सकेन ।

राजनीतिक परिवर्तन संवोधनगर्न नयाँ वजेट वैशाख २० मा


काठमाण्डौ, चैत्र २० । उपप्रधान एवं अर्थमन्त्री भरमोहन अधिकारीले सरकारले वैशाख २० गते सम्ममा नयाँ बजेट ल्याउने बताउनु भएको छ । सरकारले पूरक बजेट ल्याउने तयारी गरेको भएपनि समय भड्किसकेकोले नयाँ बजेट तयारी गरेको अधिकारीले जानकारी दिनुभयो ।

Finance Minister Bharat Mohan Adhakari
व्यबस्थापिका संसदको सार्वजानिक लेखा समिति बैठकमा अर्थमन्त्री अधिकारीले जेठ १४ पछि उत्पन्न हुनसक्ने परिस्थितिलाइ मध्यनजर गरेर पनि नयाँ वजेट ल्याउने जानकारी गराउन भएको हो । यसअघि प्रमुख प्रतिपक्षी कागे्रसले पूरक बजेट भन्दापनि नयाँ बजेटको तयारीगर्न सरकारलाइ सुझाव दिएको थियो । सिद्धान्तत सरकार परिवर्तनपछि पूरक बजेट ल्याउन मिल्ने भएपनि समयाभावका कारण सरकारले अग्रीम बजेटको तयारी गरेको मन्त्री अधिकारीले बताउनुभयो । सभासदहरुले राखेका कयौ प्रश्नको जवापमा मन्त्री अधिकारीले पूरक बजेट ल्याउनेवारे राजीनामा गरेका अर्थसचिव रामेश्वर खनालको समेत समर्थन रहेको स्पष्ट गर्नुभयो । ‘रामेश्वरजीले एक बर्षदेखी राजीनामा गर्ने सोच थियो भन्नु भएको छ, अधिकारीले भन्नुभयो– राम स्वरुपी लट्टिले मलाइ कुटने प्रयास गरेपनि चोट उहाँलाइ परेको छ ।

उहाँले खनालमाथी आफुले कुनै अनुचित दवाब नदिएको स्वयं खनालका अन्तरवार्ताले पुष्टि गरेको मन्त्री अधिकारीले बताउनुभयो । संसदवाट पारित बजेटका कार्यक्रम रोक्न निर्देशन दिएको भन्ने कागे्रस लगायत कतिपय दलका सभासदको भनाइको खण्डनगर्दै मन्त्री अधिकारीले नयाँ सरकारको आर्थिक चिन्तन बजेट मार्फत संवोधगर्न आफुले तयारी गरेपनि त्यो कानून सम्मत गर्ने स्पष्ट गर्नुभयो । मन्त्री अधिकारीले वैशाखमा नयाँ बर्ष सुरु हुने र साउनमा आर्थिक बर्ष सुरु हुने प्रक्रिर्या नमिलेको भन्दै संविधानमै बजेट ल्याउने निश्चित दिन कटौति गर्नुपर्ने बताउनुभयो । मन्त्रालय बाहिर बसेर बजेट बनाइएको भन्ने सभासदको आरेपको खण्डनगर्दै उहाँले बजेटको राजनीतिक सिद्धान्त बनाउने बिषयलाइ आपत्ति गर्न नमिल्ने टिप्पणी गर्नुभयो ।
राजीनामा दिएका सचिव खनालसंग आज विहान आफ्नो कुराकानी भएको र काममा फर्कीन आग्रह गरेको समितिलाइ मन्त्री अधिकारीले जानकारी गराउनुभयो । कतिपय मिडियाँले आफू बिरुद्ध नियोजित प्रहार गरिरहेको अधिकारीले गुनासो गर्नुभयो । बैठकमा सभासदहरुले चालु बजेटका कार्यक्रम कटौतीगर्न मन्त्रालयमा आन्तरिक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएका थिए । कागे्रसका दीपकुमार उपाध्याय र कमला पन्तले चालु कार्यक्रम रोक्नु पर्नाको कारणवारे स्पष्टिकरण माग्नु भएको थियो ।

राजपा सभासद डा प्रकाशचन्द्र लोहनीले आफ्नै सरकारले ल्याएको बजेटमा के कमजोरी भएर पूरक  बजेट ल्याउनु परेको भन्नेवारे स्पष्ट गर्नुपर्ने माग गर्नुभयो । उहाँले वर्तमान सरकार माओवादीको खेतालाका रुपमा कामगर्न लागेको टिप्पणी गर्नुभयो । तमलोपाका हृदशय त्रिपाठीले चालु बजेटको बिचमै काम रोकेर विकास कार्यक्रम प्रभावित गर्ने र संसदको अबमूल्यन गर्न खोजिएको जीकिर गर्नुभयो । छापामार शैलीमा छलफल गरेर भूमिगत शैलीमा बजेट ल्याए त्यसको सशत्त प्रतिकार गर्ने त्रिपाठीले चेतावनी दिनुभयो ।

बैठकमा सत्तारुढ माओवादी–एमालेका सभासदहरुले भने वर्तमान सरकारलाइ असफल बनाउने षडयन्त्र स्वरुप अर्थसचिवको राजीनामा प्रकरणलाइ उचालिएको आरोप लगाएका थिए । एमाले सभासद रघुबिर महासेठले वास्तविकता भन्दापनि राजनीतिकरण गरेर सरकारलाइ बदनाम गर्ने षडयन्त्र भइरहेको बताउनुभयो ।उहाँले सरकारले तयारी नै नगरेको पूरक बजेटवारे अफवाह फैलाइएको आरोप लगाउनुभयो । माओवादीका नारायण दाहालले पूरानो बजेटले जनताका आकाक्षा संवोधनगर्न नसकिरहेको अबस्थामा परिवर्तनलाइ संवोधन गर्नेगरी बजेट ल्याउन पाउनु सरकारको अधिकार भएको बताउनुभयो ।

सहकारी देश विकासको आधार —प्रधानमन्त्री

काठमाण्डौं, २० चैत्र । प्रधानमन्त्री झलनाथ खनालले सरकारले अपनाएको सहकारी, नीजि र सार्वजनिकको तीन खम्बे अर्थनीतिले अर्थब्यवस्था सुदृढ पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभएको छ । ‘सहकारीको चाहना, विश्व समृद्धिको कामना’ भन्ने नारासहित आज मनाएको सहकारी दिवसका अवसरमा आज एक सन्देश दिनुहुँदै प्रधानमन्त्री खनालले दलहरू सामन्तवादका अवशेषको अन्त्य गर्दै वैज्ञानिक भूमिसुधार गर्न र तीन खम्बे आर्थिक नीति अबलम्बन गर्न सहमत भइसकेकाले मुलुकले छोटो समयमा नै आर्थिक समुन्नती हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले आफ्ना योजनाहरुमा सहकारी क्षेत्रको विकासलाई विशेष महत्व दिइएको उल्लेख गर्दे प्रधानमन्त्री खनालले नीतिगत हिसाबले सहकारी नेपालको आर्थिक सामाजिक रुपान्तरण र न्यायपूर्ण समाज निमार्णको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभयो । सरकारले सहकारीको विकासका लागि साधनस्रोतको थप बिनियोजन गर्ने जानकारी दिर्दै प्रधानमन्त्री खनालले उत्साहका साथ सहकारीमार्फत नेपाली जनताको समृद्धिमा नेपालका सहकारीलाई लगाउन सहकारीकर्मीहरूलाई  आग्रह पनि गर्नुभयो ।

राज्यले सहकारी मार्फत विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न उपयुक्त वातावरण तयार गर्नका लागि आवश्यकता अनुसार सम्बन्धित ऐनमा परिमार्जन, नयाँ ऐन, नीति र नियमको तर्जुमा गर्नेतर्फ ध्यान दिईरहेको उहँले जनाकारी दिनुभयो । उहाँले हालको उर्जा संकटको अवस्थामा सहकारी क्षेत्रमार्फत साधन–स्रोतलाई परिचालन गरी जलविद्युत परियोजनाहरूको निर्माणमा अघि बढ्न सरकार प्रयासरत रहेको बताउनुभयो ।

यसैवीच ‘सहकारीको चाहना’ विश्व समृद्धिको कामना भन्ने नाराका साथ ५४ औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी आज मनाएको छ । राष्ट्रिय सहकारी सङ्घका अनुसार मुलुकभर हाल २१ हजार बचत तथा ऋण सहकारी संस्था रहेका छन् । ती सहकारी संस्थामा ३० लाखभन्दा बढी सदस्य आवद्ध रहेका छन् ।    नेपालमा पहिलो सहकारी संस्था विसं २०१३ चैत २० गते चितवनको बखानपुरमा, बखानपुर ऋण तथा सहकारी संस्था लिमिटेड स्थापना भएको थियो ।

सहकारी दिवसकै अवसरमा जिल्ला सहकारी सङ्घ काठमाडौँले आज बिहान र्यालीको आयोजना गरेको थियो । भृकुटीमण्डपबाट सुरु भएको र्याली सहरका विभिन्न स्थान परिक्रमा गर्दै सोही स्थानमा आइपुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री झलनाथ खनालले जलस्रोतको क्षेत्रमा सहकारी लगानी गराउन आवश्यक ऐन परिमार्जन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सहकारी संस्थामार्फत जलस्रोत लगानी गर्नुपर्छ, यसका लागि सरकारले उचित वातावरण तयार गर्नेछ ।

प्रधानमन्त्री खनालले दिगो शान्ति र नयाँ संविधान निर्माण गर्न सरकारले अर्जुनदृष्टिले काम गर्ने र गरिराखेको उल्लेख गर्दै यसलाई सहयोग गर्न सबै दल, नागरिकसँग आह्वान गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री खनालले काठमाडौँ उपत्यकाभित्र उत्कृष्ट कार्य गरेका नमूना बहुउद्देश्यीय महिला सहकारी संस्था, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था र दुर्गाभवानी बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गर्नुभएको थियो । सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारी ऐन २०४८ परिमार्जन गर्न माग गर्नुभयो ।

राष्ट्रिय सहमतिको सरकार आवश्यकः नेपाल

कैलाली, २० चैत्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको मुख्य कार्यभार शान्तिप्रक्रिया र संविधान निर्माण सम्पन्न गर्न राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको बताउनुभएको छ । प्रेस चौतारी कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानसभाको म्याद थप गर्नेभन्दा पनि समयमै संविधान जारी गर्न दलहरूले जिम्मेवारीसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री खनाल विरुद्ध निकै कडा रुपमा प्रस्तुत हुन भएका नेता नेपालले प्रधानमन्त्री खनाललाइ माओवादीको स्याहार सुसारमा लागेको भन्दै खनालको २ महिने कार्यकालमा शान्ती र संविधानबारे प्रगति नभएको बताउनुभयो । नेता नेपालले शान्ती र संविधान निमार्णका लागी माओवादीलाइ दबाब जरुरी रहेको भन्दै माओवादीसँग टाँस्सिएर संविधान निमार्ण नहुने दावी गर्नुभयो । नेता नेपालले माओवादीले खनाललाइ आफु निकट भएकाले प्रधानमन्त्री चयन गरेको भन्दै उसले खनाललाइ प्रयोग गरिरहेको टिप्पणी गर्नुभयो ।

माओवादीसँग हतियार र सेना रहेसम्म शान्तिप्रक्रिया टुङ्गोमा पुग्न नसक्ने उललेख गर्दै नेता नेपालले अविलम्ब हतियार र सेनाको व्यवस्थापन हुनु जरुरी रहेकामा जोड दिनुभयो । उहाँले तोकिएकै सीमाभित्र संविधान नबने संविधानसभाको म्याद थप्नु निरर्थक हुने बताउनु भयो ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले पछिल्लो समयमा मुलुकमा भएका बम विस्फोटनका घटनाले सरकारलाई चुनौती थपेको उल्लेख गर्दै अब छिट्टै प्रधानमन्त्रीले गृहमन्त्रीको जिम्मेवारी अरूलाई दिएर दृढताकासाथ लाग्न सुझाव दिनुभयो । माओवादी अध्यक्ष संविधानसभा, संवैधानिक समिति अन्तर्गत विवाद समाधान उपसमितिबाट बाहिर जान खोज्नुले माओवादी संविधान निर्माणप्रति गम्भीर नभएको सङ्केत गरेको नेता नेपालको भनाई थियो । 

नियमावली विपरित संसदीय समितिको निर्देशन

काठमाण्डौं, २० चैत्र । व्यबस्थापिका संसदको सार्वजानिक लेखा समितिले राजश्व प्रसाशन सम्बन्धी ऐन विपरित नक्कली भ्याट विल प्रयोग गर्ने व्यबसायीक फर्मको नामावली उपलव्ध गराउन अर्थमन्त्रालयलाइ निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नक्कली भ्याट विल प्रयोग गर्ने व्यबसायीक कम्पनीहरुको नामावली ४ दिनभीत्र समितिमा उपलव्ध गराउन सरकारलाइ निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । बैठकमा राजश्व सचिव कृष्णहरी वास्कोटाले गोप्य रहनुपर्ने करवालाको नाम उपलव्ध गराउनु ऐन विपरित हुने बताएपनि केहि सभासदले नक्कली भ्याट विल प्रयोग गर्ने व्यबसायीक प्रतिष्ठानको नामावली मगाउन जिद्दी गरेका थिए ।

बैठकमा अर्थमन्त्री भरतमोहन अधिकारीले नक्कली भ्याट विल प्रयोग गर्नु नक्कली नोटको कारोवार जस्तै गम्भीर प्रकृतिको अपराध भएकोले त्यसमा संलग्न जोसुकैलाइ कार्वाही गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले आगामी बजेटमा ऐन संशोधन गरेर छुट दिन लागेको भन्ने हल्ला सही नभएको दावीगर्दै नक्कली भ्याट बिल प्रयोग गर्नेलाइ छुट नदिइने स्पष्ट गर्नुभयो ।

नेपालीमाथी भएको आक्रमणको अमेरिकाद्वारा भत्र्सना

काठमाण्डौं, २० चैत्र । अमेरिकाले अफगानिस्थानस्थित राष्ट्रसंघीय कार्यालयमा नेपाली सुरक्षागार्ड मारिने गरी भएको आक्रमणको भत्र्सना गरेको छ । अमेरीकि राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलारी ल्किन्टनले घटनाको निन्दा गर्नुभएको काठमाडौस्थित अमेरिकी दुताबासले जनाएको छ ।

अमेरिकामा कुरान जलाएको आरोपमा अफगानिस्थानको काबुल स्थित राष्ट्रसंघीय कार्यालयमा भएको आक्रमणमा ४ जना नेपाली सहित २० को मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुन लगायतले पनि घटनाको निन्दा गर्नुभएको थियो । संयुक्त राष्ट्रसङघको महत्वपूर्ण कार्यमा खटिदा देखाएको साहसिक प्रतिबद्धता र बहादुरीको हामी उच्च प्रसंसा गछौ,अमेरिका सरकारद्धारा जारी समवेदना सन्देशमा उल्लेख छ । अमेरिकी राजदुतावास मार्फत आएको समवेदनामा सो आततायी हमलामा वीरगती प्राप्त गरेका नेपालीको परिवाजन र आफन्तमा हार्दिक समवेदना ब्यक्त गरिएको उल्लेख छ ।

राष्ट्रपति डा यादवद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ, २० चैत । घोडेजात्रा पर्व आज विभिन्न  कार्यक्रमहरुको आयोजन गरी सैनिक मन्च टुँडिखेलमा मनाईएको छ । पौराणिका आस्था बोकेको पर्व नेपाली सेनाको सहभागितामामा घोडा दौडका साथै अन्य कौसल हरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा नेपााली सेना परमाधिपती एवं राष्ट्रपति डा रामवरण यादव,उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री झलनाथ खनाल, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ, सभामुख सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो । त्यसैगरी मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव घोडेजात्रा समारोहमा उपस्थित हुनुहुन्थ्यो । 

समारोहमा घोडा दौडअन्तर्गत ट्रिक राइड, टाँगन घोडा दौड र चार्जर घोडा दौड प्रस्तुत गरिएको थियो ।  घोडा दौडका अतिरिक्त समारोहमा शो जम्प, टेण्ट पेगिङ्ग, ड्रिल राइड, भल्टिङ एक्सरसाइज, रेन फ्रि जम्प, म्यूजिकल राइड, हर्स बल, क्रस कन्ट्री–वाटर जम्प, पुसान्स (हाइट जम्प), हङ्गेरीयन पोष्ट र घोडेजात्रा समापन (फायर जम्प) प्रस्तुत गरिएको थियो । समारोहमा राष्ट्रपति डा यादवले म्यूजिकल राइडलगायतका खेलमा उत्कृष्ट हुने सेनाका अधिकृतलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
   
टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र त्यसबाट पीडित सहरवासीले उसलाई मारे पनि प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ । सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ । सरकारले काठमाडौँ उपत्यकाभित्रका सबै सरकारी कार्यालयलाई आज सार्वजनिक बिदा दिएको थियो ।

अन्तराष्ट्रिय समाचार
फ्रान्सद्धारा अज्दावियाको एयरपोर्ट कब्जा

राष्ट्रसंघ मातहत आइभोरिकोष्टमा खटिएको फ्रान्सेली सैनिकले अभिजानको अन्तराष्ट्रिय एयरपोर्ट कब्जामा लिएको छ । फ्रान्सेली समाचार संस्था एएफपीका  अनुसार फ्रान्सले थप तिन सय सैनिक समेत आइभोरिकोष्टमा पठाएको छ । उक्त समाचारको फ्रान्सेली सैन्य प्रवक्ता थिररी बुखार्डले समेत पुष्टि गरेका छन् ।
आइभोरिकोष्टमा राष्ट्रसंघिय मान्यता राष्ट्रपति अल्साने ओटारा र सत्ता छाड्न अस्वीकार गर्दै आएका अर्का राष्ट्रपति लोरेन्ट बाग्बो समर्थक सैनिक बिच भिडन्तमा वृद्धि भएपछि फ्रान्सेली सैनिकले एयरपोर्टमाथी कब्जा जमाएको हो । फ्रान्सेली सैनिकले अन्य एयरपोर्टमा भने यसअघि नै कब्जा जमाइसेकेको छ । यसैबिच आइभोरिकोष्टमा फ्रान्सेली सैन्य क्याम्प शरणार्थीको रुपमा शरण लिने विदेशिको संख्या १५ सय पुगको विविसीले जनाएको छ ।

यसैबिच सयुक्त राष्टसघले त्यहा जारी सघर्ष प्रति चिन्ता ब्यक्त गरेको छ । महासचिब बान की मुनले स्वघोषीत राष्टपतिको घोषणा गरेका बाब्बोलाई तत्काल सक्ता बाट हटि निर्बाचित राष्टपति ओटारालाई हस्तान्तरण गर्न आग्रह गर्नु भएको छ ।

खेल समाचार
१३ औँ बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मस्याङ्दीलाइ

धरान, २० चैत्र । १३ औँ बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मस्यादि क्लबले जितेको छ । धरान स्थीत धरान रंगशालामा भएको खेलमा पूर्व विजेता रानी पोखरी कर्नर टिम आरसिटिलाइ सडन डेथमा ८–७ ले पराजित गर्दै मनाङ विजयी बनेको हो ।

खेलको पुरै समय दुबै टालीले गोल गर्नबाट चुकेपछि खेलमा १५ मिनेटको समय थप गरिएको थियो । थप गरिएको समयमा समेत खेल गोलरहित बराबरीमा कायमै रहेपछि खेल टुङ्गाऊन पेनाल्टी सुट आउटको साहारा लिइएको थियो । यद्यपी पेटनाल्टी सुट आउटमा समेत दुबै टोलीले ४–४ गोल गरेपछि खेलको टुङ्गो सडन डेथबाट लगाइएको हो । सडन डेथमा मनाङका गोलकिपर विशाल श्रेष्ठले आरसिटीका क्यामरुनका खेलाडी एलेक्सका बल रोकेपछि मनाङ विजयी बनेको थियो ।

नेपाली टिमका कोच ः एएफसी च्यालेन्सका लागी नेपाल तयार

काठमाण्डौं, २० चैत्र । नेपाली फुटबल टिमका प्रशिक्षक ग्राहाम रोबर्टले आगामी बिहीबारबाट सुरु हुने एएफसी च्यालेन्जकपमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास जनाएका छन् । राजधानीमा आज पत्रकारहरुस“ंग कुरा गर्दै रोबर्टले कडा मेहनत गरे खेल जित्न कुनै गाह्रो नभएको बताए । रोबर्टले नेपाली खेलाडीहरू तयार भइसकेको हु“दा प्रतियोगितामा छनोट हुनेमा आफू ढुक्क भएको दाबी गरे । मेहनत गरे जस्तो सुकै टोलीलाई पराजित गर्ने नेपाली टोली सक्षम रहेको पनि रोबर्टको भनाइ छ । उत्तर कोरिया जस्तो बलियो टोली समक्ष नेपालको प्रदर्शन कस्तो हुन्छ भन्ने प्रश्नमा रोबर्टले आफूले पहिलो खेलमा अफगानिस्तान पराजित गर्नेबारे मात्र सोचिरहेको जवाफ दिए । नेपाली टोलीको सवल पक्ष डिफेन्स भएको तर मिडफिल्डर निराजन मल्ल घाइते हुनुले केही समस्या पर्न सक्ने रोबर्टको भनाइ थियो । अगामी बिहीबारबाट राजधानीमा सुरु हुने एएफसी च्यालेन्ज कपको समूह डीको छनौट खेलमा नेपालसहित अफगानिस्तान, श्रीलंका र उत्तर कोरिया सहभागी छन् ।

No comments: