Thursday, September 22, 2011

माओवादी फुट्ने खतरा : बैद्य पक्षको ब्यापक तयारी


Ashok Dahal

अशोक दाहाल
काठमाण्डौँ । आगामी असोज १३ गतेको केन्द्रीय कमिटि बैठकबाट पनि अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मागहरु सम्वोदन नगरे बैद्य पक्षले पार्टी फुटाउने तयारी गरेको छ । पार्टी नेतृत्व विरुद्ध दवाव सिर्जना गर्न भन्दै बैद्य पक्षले जनवर्गिय संगठन र इलाका स्तरसम्म समानान्तर कमिटिहरु गठन गरिसकेको छ । केन्द्रीय कमिटि बैठक अघि कुनैपनि भेला र प्रशिक्षण नगर्ने सहमति बेवास्ता गर्दै बैद्य पक्षले जिल्ला सेक्रेटरी सम्मका कार्यकर्ताहरु सहभागि गराएर राष्ट्रिय भेला नै आयोजना गरिसकेको छ । 
  • संसदीय दलमा समेत ४० प्रतिशत सभासद् नपुग्ने भएका बैद्यले पार्टी नफुटाइ पार्टीबाट अलग हुनुपर्ने भएका कारण पार्टी फुटाए बैद्यको राजनीति समाप्त हुने दाहाल पक्षको लख छ ।
  • नेता कृष्ण बहादुर महरा पनि बैद्य गुटमा समावेश हुने तयारी गरेका छन् ।
  • १५७ मध्ये ४० केन्द्रीय सदस्य  र संसदिय दलमा १३७ मध्ये ४५ जना सभासद्हरु बैद्य पक्षमा खुलेर देखिएका छन् । त्यस्तै पदाधिकारीहरुमा उपाध्यक्ष बैद्य सहित महासचिव रामबहादुर थापा, सचिव सीपि गजुरेल बैद्य पक्षमा छन् ।
पार्टीको कार्यनीतिका बिषयमा अध्यक्ष दाहाल पक्षसँग सहमति नभए बैद्य पक्षले पार्टी फुटाउने तयारी गरेको सुईँको अध्यक्ष दाहाल पक्षघरलाई भएपनि बैद्यले पार्टी नै फुटाउने सम्मको आँट नगर्ने दाहाल–भट्टराई पक्षको विश्वास छ । ‘यो भनेजति मन्त्री नपाएको गुनासो गर्ने वहाना मात्र हो, पार्टी फुटाउने सोच चाहीँ बनाएका छन् भन्ने आएको छ तर त्यहाँसम्मको आँट नगर्लान्  भन्ने हो’ दाहाल निकट एक पोलिटब्यूरो सदस्यले भने ।

Prachanda and Baidhya
बैद्य पक्षको संसदीय दलमा समेत ४० प्रतिशत सभासद् नपुग्ने भएका बैद्यले पार्टी नफुटाइ पार्टीबाट अलग हुनुपर्ने भएका कारण पार्टी फुटाए बैद्यको राजनीति समाप्त हुने दाहाल पक्षको लख छ । तर पार्टी नेतृत्व सच्चिएर नआए ४० प्रतिशत सभासद् नपुगेपनि अगल हुने बैद्य पक्षको योजना छ । ‘विचारमै सहमति नभए बहुमत वा ४० प्रतिशतको कुरा आउँदैन, एक्लै भएपनि झन्डा उठाउन तयार हुने अवस्था आउँछ’ बैद्य पक्षका एक केन्द्रीय सदस्यले भने । पार्टी नेतृत्वले पार्टीको आधिकारीक कार्यदिशा नै त्यागेका कारण नेतृत्व सच्चिएर नआए पार्टीमा बसिरहनुको औचित्य नभएको बैद्य पक्षको ठहर छ । ‘पार्टीको कार्यदिशामा एक भए बाँकी बिषयमा उत्पन्न विवाद हल हुँदै जान्छन् भन्ने हो, तर आधिकारीक कार्यदिशामा पार्टी नेतृत्व नआए पार्टी एक भइरहन्छ भन्ने हुँदैन’ बैद्य नजिकका पोलिटब्यूरो सदस्य कुलप्रसाद केसीले भने–‘एकता पनि मुक्ति, संघर्ष वा जनताको हितको बिषयमा हुन्छ तर एकता गरेर यी तीनवटै कुरा गुम्छन् भने एकताको अर्थ के नै रहन्छ र ?’ बैद्य पक्षले अध्यक्ष दाहालसँग आफ्ना माग सम्वोदन नभए सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सम्मको चेतावनी दिने गरेको दाहाल निकट नेताले जानकारी दिए । 

पार्टी नेतृत्व जनताको गणतन्त्रको नारा त्यागेर लोकतान्त्रीक गणतन्त्रको नारामा हिँड्न थालेको, सुपुर्दगी सन्धि र एयर मार्सल राख्ने राष्ट्रघाती सन्धिमा सहमति जनाउने तयारी गरेको, बाह्य शक्तिकेन्द्रको निर्देशनमा चलेर माओवादी लडाकुलाई आत्मसमर्पणको संघारमा पु¥याएको भन्दै बैद्य पक्ष पार्टी नेतृत्वसँग रुष्ट छ । ‘एयर मार्सल र सुपुर्दगी सन्धि हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारले नै ग¥यो भने यो सरकार इतिहासकै कलंतिक सरकार हुन्छ हामी यस्तो निर्णय हुन नदिनका लागि जुनसुकै कदम पनि चाल्न वाध्य हुनेछौं’ नेता केसीले भने । अध्यक्षले नै पार्टीको आधिकारीक कार्यदिशा कार्यान्वयन गर्न नसके पार्टी अध्यक्षमाथि नैतिक प्रश्न उठ्ने बैक्ष पक्षको ठहर छ । ईमान्दार र नैतिकवान नेताहरुको ठूलो जमान बैद्य पक्षमा पनि रहेको बैद्य पक्षका नेताहरु दावी गर्छन् ।

विवाद मिलाउन माओवादीले आगामी १३ गते केन्द्रीय कमिटि बैठक आह्वान गरेको छ । केन्द्रीय कमिटि अधि अध्यक्ष दाहाल र बैद्य पक्ष एक अर्कालाई बाह्य शक्तिकेन्द्रको इशारामा चलेको आरोप प्रत्यारोपमा छन् । तर अध्यक्ष दाहाल पक्षले भने बैद्य पक्ष पार्टीका हरेक कार्यमा असहयोगी भएको ठहर गर्दै बैद्य पक्षले अलग हुने धम्की दिएपनि निर्णयबाट पछि नहट्ने अडानमा छ । ‘एक दुई जना अलग नै भएपनि पार्टी समाप्त हुने होइन, पार्टीका हरेक कार्यमा असहयोग गरेर अल्झाइरहने नै हो भने एक दुई जना बाहिरिएनै पनि पार्टीलाई घाटा हुने होइन, बरु त्यसैको राजनीति सकिने हो, फेरी पनि अर्को मातृका यादव बन्ने हो ।’ दाहाल निकट नेताको भनाई छ । माओवादी सामुहिक नेतृतवमा जाने सहमति भएपनि अध्यक्षले चार बुँदे सहमति देखि साँचो बुझाउने निर्णय पनि एकलौटी रुपमा मात्र गरेका कारण विवाद बाहिर आएको बैद्य पक्षको भनाई छ ।समग्र सेना समायोजन एक साथ अघि बढ्नु पर्नेमा हतियारको साँचो मात्र पहिले बुझाउने निर्णयले माओवादीलाई नै कमजोर बनाएको भन्दै बैद्य पक्षले निर्णय सच्याउनुपर्ने एकसुत्रिय अडान लिइरहेको छ । 

बैद्य पक्षले आफूहरु राष्ट्रियता र पार्टीको नीतिका पक्षमा रहेका कारण पार्टीमा प्रतिपक्षिको आरोप लगाइएपनि आफूहरु नै पार्टीको संस्थापन पक्ष रहेको दावी गरेको छ । ‘जसले पार्टीको अधिकारीक कार्यदिशा र नीति लिएर हिँडेको हुन्छ त्यो नै संस्थापन पक्ष हो’ पक्ष निकट नेता केसीले भने । यसैबीच पार्टी नेतृत्वले पार्टीमा योगदान गरेका नेताहरुलाई मुल्याङ्कन नगरेको भन्दै नेता कृष्ण बहादुर महरा पनि बैद्य गुटमा समावेश हुने तयारी गरेका छन् । बैचारीक रुपमा बैद्य सँग नजिक भएपनि तटस्थ रुपमा दुवै पक्षलाई मिलाउने भूमिका खेल्दै आएका महरा बैद्य पक्षमा जान तयार भएको स्रोतले बतायो । उनि खुलेर नदेखिए पनि महराले बैद्यसँग निरन्तर छलफल गर्ने गरेको स्रोतको दावी छ । आफूलाई हटाएर नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाइएपछि महरा अध्यक्ष दाहालसँग रुष्ट छन् । केन्द्रीय कमिटिमा १५७ मध्ये ४० केन्द्रीय सदस्य  र संसदिय दलमा १३७ मध्ये ४५ जना सभासद्हरु बैद्य पक्षमा खुलेर देखिएका छन् । त्यस्तै पदाधिकारीहरुमा उपाध्यक्ष बैद्य सहित महासचिव रामबहादुर थापा, सचिव सीपि गजुरेल बैद्य पक्षमा छन् । 

No comments: