Monday, November 28, 2011

कहाँबाट आयो नेपाली नक्कली नोट? संलग्न भारतिय गिरोह फरार !!!


Nepali Duplicate Currency
नवराज मैनाली
काठमाडौं । उच्च प्रविधिबाट छापिएका तीन लाख ११ हजार नक्कली नेपाली रुपैया“ सहित प्रहरीले दुई कारोबारीलाई पक्राउ गरेको छ । बीरगंजलाई केन्द्रबिन्दु बनाएर नक्कली नेपाली नोटको कारोबारमा संलग्न ठुलो गिरोहमा आबद्ध प्युठान ओखरपोट घर भई बानेश्वरमा बस्दै आएका  शिवशक्ति पोखरेल र अछामको सन्तडा घर भई कोटेश्वर बस्दै आएका बिनोद कुमार शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले शुक्रबार पक्राउ गरेको हो । अभियुक्त पोखरेल नक्कली नोटका ‘डिलर’ र शाह खुद्रा कारोबारी भएको सिआईबीले जनाएको छ । अभियुक्त शाह दुईवर्षअघि पनि नक्कली भारतीय नोटसहित पक्राउ परी धरौटीमा छुटेका अभियुक्त हुन् । 


नक्कली नोटको कारोबारको बारेमा गोप्य सूचनाको आधारमा पोखरेलले शाहलाई नक्कली नोट दिदै गरेको अवस्थामा  कोटेश्वरबाट पक्राउ गरिएको  सिआईबीका निर्देशक डिआईजी उपेन्द्रकान्त अर्यालले बताए । पोखरेलको साथबाट प्रहरीले २२ हजार र शाहको साथबाट दुई लाख ८९ हजार नक्क्ली नोट बरामद भएको हो । ठुलो परिणाममा नक्कली नोट बरामद भएको र डिलर समेत पक्राउ परेकाले यसलाई प्रहरीले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । 


पोखरेल र शाह लामो समयदेखी नक्कली नेपाली र भारु नोटको कारोबारमा संलग्न रहेको प्रहरीको भनाई छ । ‘पक्राउ परेका अभियुक्तहरु व्यवसायिक रुपमा नक्कली नोटको धन्दामा लागेको देखिएकाले बजारमा ठुलै परिणाममा नक्कली नोट गइसकेको हुनसक्छ,’ डिआईजी अर्याल भन्छन्,‘यसले नक्कली नोटको धन्दामा ठुलै गिरोह संलग्न देखिएको छ ।’ अभियुक्त पोखरेल बानेश्वरका पानीट्याङकी अगाडि कपडा पसल समेत चलाउदै आएका थिए । शाह भने २०६६ साल १३ फागुनमा महानगरीय प्रहरी अपराध महाशाखाद्धारा  पा“च सय दरका ३५ वटा नक्कली भारतीय नोटसहित पक्राउ परेका थिए र पछि उनी अदालतबाट धरौटीमा छुटेको प्रहरीले जनाएको छ। छुटेपछि झन् व्यवसायिक रुपमा उनी नेपाली नक्कली नोटको  धन्दामा लागेको पाइएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउछन् । 


अभियुक्त पोखरेल तल्लो तहका डिलर मात्र भएको र उनीभन्दा माथि मुख्य गिरोह रहेकाले उनीहरुको खोजी भइरहेको डिआईजी अर्यालले बताए । स्रोतका अनुसार पोखरेलको बयानको आधारमा नक्कली नेपाली नोटका मुख्य कारोबारीको पहिचान भइरहेको छ । तर मुख्य कारोबारी आफ्नो गिरोहका दुई व्यक्ति पक्राउ परेको सूचना पाएपछि मोबाइल स्वीच अफ गरेर भागेकाले तीन दिन बित्दा पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

सिआईबीले बरामद गरेका नोटमा पा“च सय र एक हजार दरका छन् ।   ‘बरामद भएका नोटहरु उच्च प्रविधिको प्रेसमा नै छापिएका हुन,’ डिआईजी अर्याल भन्छन्,‘तर पनि नक्कली भनेर सजिलै पहिचान गर्न सकिन्छ ।’ 

सो गिरोहबाट बरामद नक्कली नोटहरु सक्कली नोटभन्दा केही छोटो रहेको, बढि चिल्लो रहेको र अधिंकाश नोटमा एउटै नम्बर रहेको सिआईबीका प्रहरी अधिकारीले जनाएका छन् । यसअघि उच्च प्रविधिका फोटोकपी मिसिनबाट नक्कली नोटको कारोबार हुने गरेको पाइएको थियो । तर उच्च प्रविधिको प्रेसमै छापिएको नक्कली नोट भने पहिलोपटक बरामद भएको प्रहरीको भनाई छ । 

दुई वर्षअघि ललितपुर प्रहरीले फोटोकपी प्रविधिको नोट छाप्ने मिसिनसहित भारतीय नागरिक शेख सखिलाई पक्राउ गरेको थियो । उनी हाल नख्खु जेलमा छन् । 


त्यसैगरी गत १२ असोजमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरले बिहिबार १६ हजार पा“च सय नक्कली नेपाली नोटसहित भारतीय नागरिक रोजित सिंहलाई पक्राउ गरेको हो । अभियुक्त सिंंहले ५०÷६० नक्कली नोट बनाई  बजारमा पठाइसकेको बयान दिएका थिए । उनले  सक्कली नोटको  एकतर्फको भाग छुट्टाई त्यसमा नोटको अर्काे भागको फोटोकपी गर्दथे ।  अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार प्रेसबाट नै नेपाली नोट छापिने घटना भने पहिलोचोटी फेला परेको हो ।  यसअघि भाट्टभुट्ट रुपमा मात्र नक्कली नोट फेला परेकोमा हाल एउटै गिरोहबाट तीन लाख भन्दा बढि नक्कली नोट फेला परेकाले नक्कली नोटको काराबोर व्यापक रहेको र यसले अर्थतन्त्रमा ठुलो धक्का लाग्ने प्रहरीको भनाई छ । शुक्रबार बरामद भएका नोट उच्च उच्च प्रविधिबाट छापिएको र ठुलो परिणाम भएकाले यसमा सरकार, राष्ट्र बैंक र प्रहरीले गम्भिरताका साथ लिएर कारबाही गरिनुपर्ने राष्ट्रबैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउछन् । 

५ हजारमा कमिसनमा कारोबार 

शुक्रबार पक्राउ परेको गिरोहको कम्तीमा चार तह रहेको र उनीहरुले प्रतितह एक लाखको पा“च हजार कमिसनमा काम गर्दै आएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताए । सिआईबीमा नक्कली नोटसम्बन्धि अपराधको अनुसन्धान गर्दै आएका डिएसपी ओम प्रसाद अधिकारीका अनुसार एउटा तहले एक लाख नोट बजारमा सप्लाई गरेवापत पा“च हजार कमिसन पाउने गर्दथे । प्रारम्भिक अनुसन्धानमा मुख्य गिरोहले भने एक लाख नक्कली नेपाली नोटको पहिलो ‘डिलर’ लाई कम्तीमा ३५ हजारमा बिक्रि गरेको खुलेको छ । आफुहरु बच्नका लागि मुख्य गिरोहले नक्कली भारतीय रुपैया“को जस्तै विभिन्न तह बनाएर कारोबार गर्दै आएको देखिएको छ । 

केन्द्रबिन्दु बीरगञ्ज, सञ्जाल जिल्लाजिल्लासम्म 

सिआईबीको तीन दिनको अनुसन्धानमा नक्कली नेपाली नोट कारोबारको केन्द्रबिन्दु पर्साको वीरगञ्ज देखिएको छ । ‘हालसम्म वीरगंजलाई केन्द्रबिन्दु बनाएर कारोबार भएको देखिएको छ, नोट त्यही छापियो वा बाहिर छापियो स्पष्ट हुन सकेको छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । स्रोतका अनुसार बरामद भएको नक्कली नोट भारतमा छापिएको प्रबल सम्भावना देखिएको छ । त्यसकारण सिआईबीको एक टोली त्यससम्बन्धि अनुसन्धानका लागि हाल वीरगंजमा छ । नक्कली नोट छाप्नका लागि मात्र कसैले प्रेसमा लगानी गर्न नसक्ने र नेपालमै छाप्दा भेद खुल्ने भएकाले पनि नोट भारतमै छापिएको स्रोतको दाबी छ । सिआईबीका डिआईजी अर्याल पनि बरामद भएका नोट नक्कली भारुजस्तो उच्च गुणस्तरको नभएकाले पाकिस्तानबाट छापिएर आउने सम्भावना नरहेको बताउछन् । ‘हाम्रो अनुसन्धानको हालसम्मको निष्कर्ष भनेको नक्कली भारुको कारोबार संलग्न गिरोह नै नक्कली नेपाली रुपैया“को कारोबारमा संलग्न छ भन्ने हो ।’ पक्राउ परेका अभियुक्त शाह पहिला नक्कली भारुको कारोबारी भएकाले पनि प्रहरीले त्यस्तो ठम्याई गरेको हो । स्रोतका अनुसार नक्कली नेपाली नोटको धन्दामा भारतीय नागरिकहरु समेत संलग्न रहेको खुलेको छ । 
केन्द्रबिन्दु भारतस“गको सीमा सहर वीरगंज भएपछि उनीहरुको सञ्जाल भने विभिन्न पहाडी जिल्लाहरुसम्म रहेको देखिएको छ । पक्राउ परेका अभियुक्त शाहले दैलेख, सुर्खेत लगायतका जिल्लामा आफुले नक्कली नोट पटक पटक ओसोरेको बयान दिएका छन् । अन्य विभिन्न पहाडी जिल्लामा उनीहरुको कारोबारको संञ्जाल देखिएको सिआईबी एक अधिकारीले बताए ।  

कसरी हुन्छ कारोबार ? 

प्रहरीका अनुसार मुख्य गरी तीन तरिकाबाट नक्कली नोटको बजारमा सप्लाई गरिदै आएको छ । पहिलो तरिका भनेको थोरै मुल्यको सामान किनेर उनीहरुले हजार र पा“च सयको नोट दिई नक्क्ली नोटलाई बजारमा पठाउने गर्छन् । दोस्रो तरिका भनेको धेरै आर्थिक कारोबार हुने क्षेत्रमा धेरै बिटोमा केही नक्क्ली नोट घुसाउने गरिएको छ ।  डिआईजी अर्यालका अनुसार बैंकमा पैसा दिदा एक लाखको बिटामा ५÷७ हजार नक्कली नोट घुसाउने गरिएको अनुसन्धानमा देखिएको छ । राष्ट्र बैंकका प्रवक्ता ज्ञवाली पनि बैंकिङ कारोबार तथा सरकारी कार्यालयबाट आउने नोटका बिटामा केही नक्कली नोटहरु फेला पर्ने गरेको बताउछन् । तेस्रो तरिका भनेको ग्रामिण क्षेत्रमा सप्लाई गर्नु हो । ग्रामिण क्षेत्रका जनताले नक्क्ली नोट पहिचान नगर्ने भएकाले काराबारीले ग्रामिण क्षेत्रलाई रोज्ने गरेका हुन्  । पछिल्लो एक वर्षमा मात्र चितवन, सुर्खेत, दोलखा लगायतका जिल्लामा नक्कली नेपाली नोटसहित विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐनको खोटाचलन अन्र्तगत कारबाही गरिने प्रहरीले जनाएको छ । 

No comments: