Thursday, February 17, 2011

फागुन ४ गते २०६७


पोखरामा माओवादी प्रशिक्षण, सात बुँदे सहमतिमा विवाद छैन ः प्रचण्ड, 

एमाओवादीका अध्यक्ष प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातबुँदे सहमतिमा कुनै पनि विवाद नरहेको दावी गर्दै भोलि नै सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रधानमन्त्री झलनाथ खनालसँग हिजो र आज बिहान भएको छलफलले विवादित विषयको टुँगो लगाईसकेकाले भोलि नै सरकारले पूर्णता पाउने बिश्वास व्यक्त गर्नुभयो । पोखरा सभागृहमा जारी माओवादीको राज्य समितिस्तरिय प्रशिक्षणको अवसरमा आज पत्रकारहरुसँग कुरा गर्दै मूलमुद्दाको रुपमा रहेको गृहमन्त्रालय लगायत मन्त्रालय बाँडफाँटको विषयमो टुँगो लागिसकेको हुँदा अब माओवादीसहित मधेशवादी र केही सानादलहरु पनि सरकारमा सामेल हुने उहाँको विश्वास थियो । 

मन्त्रालय बाँडफाँडमा एमाल भित्रको विवादले समस्या ल्याउँछ कि भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष प्रचण्डले राजनीतिक तरलता रहेको बेला खनालसँगको सहमतिमा समस्या नहुने विश्वास ब्यक्त गर्नुभयो । मन्त्रालयको भागबण्डाको विषयमा अहिले नै सार्वजनिक नगर्ने जनाउँदै उहाँले भोलि बिहान बस्ने माओवादी स्थायी कमिटी बैठकले आफ्नो दलबाट सरकारमा जाने मन्त्रीहरुको टँुगो लगाउने जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै पनि विवाद नरहेको दाबी गर्दै समसामयिक राजनीतिक घटनाक्रम, सरकार, संविधान निर्माण, शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषय तथा षड्यन्त्रकारीहरुसँग कसरी जुध्नेलगायतका विषयमा प्रशिक्षण दिइएको जनाउनुभयो । उपाध्यक्ष डा. भट्टराईलाई सरकारको नेतृत्व दिने विषयमा पार्टीभित्र विवाद नभएको दाबी गर्दै उहाले प्राविधिकरुपले प्रधानमन्त्रिमा उहाको उम्मेद्धारी नदिएको स्पष्ट गर्नुभयो । 

यसैवीच, सात बुँदे सम्झौताप्रति पुनप्रतिवद्धता जनाउनु भएका प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच मन्त्रीमण्डल विस्तारको बारेमा आज पुनः छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा माओबादीलाई गृहमन्त्रालय सहित ११ मन्त्रालयको जिम्मेजवारी दिने बारेमा सहमती भएको वताईएको छ । गृहमन्त्रालय माथि दुबै दलले अडान नछाडे पछि सरकार गठन भएको दुई साता बित्न लाग्दा समेत सरकारले पुर्णता पाउन सकेको छैन । 

सात बुँदे सहमति ‘रकमी दस्तावेज’  ः काँग्रेस र मधेशी मोर्चा

काठमाडौँ, ४ फागुन । नेपाली कागे्रस लगायत प्रजातान्त्रिक गठबन्धन पक्षधर नेताहरुले प्रधानमन्त्री निर्वाचनका क्रममा एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको सात बुँदे सहमति विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र सहमतीय राजनीति विपरीत भएको बताएका छन । शान्ति र लोकतन्त्रका लागि साझा अभियान कोक्यापले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेताहरुले माओवादी–एमाले सहमतिलाई रकमी दस्तावेजको संज्ञा दिएका हुन् । 

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले दुई दलबीच भएको सात बुँदे सहमतिबाट प्रजातन्त्रवादी शक्तिहरुमात्र नभइ सर्वत्र चिन्ता र विरोध भइरहेको बताउनुभयो । मुलुकमा स्थापित लोकतन्त्रलाइ कसैले हरण गर्न नसक्ने बताउँदै कोइरालाले प्रजातन्त्रको पक्षमा कहीँ कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्नुभयो । उहाँले प्रजातन्त्रको पक्षमा नागरिक समाजले पहेरदारको भूमिका निर्वाह गर्नसमेत सुझाव दिनुभयो । 

मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले ठूला राजनीतिक दलले राष्ट्रिय सहमतिको इमान्दार प्रयास आजसम्म नगरेकाले मुलुक सधँैँ अन्योलको स्थितिमा रहनुपरेको दावी गर्नुभयो । ठूला दलले इमान्दार प्रयास नगरेसम्म शान्ति र संविधानको लक्ष्य पूरा हुन नसक्ने गच्छेदारको भनाइ थियो ।  माओवादी र एमालेले सत्ता नेतृत्व लिने क्रममा वामपन्थी धु्रवीकरणको प्रयास गरे मुलुक एकपटक मुठभेडमा जाने गच्छेदारले चेतावनी दिनुभयो । 

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सात बुँदे सहमति संविधान निर्माणका लागि प्रत्युत्पादकमात्र नभई आपत्तिजनक रकमी दस्तावेजका रुपमा आएको बताउनुभयो । अध्यक्ष थापाले शान्तिप्रक्रिया टुङ्ग्याउने नीति स्पष्ट रुपमा अघि नआएसम्म संविधान बन्न नसक्ने धारणा राख्नुभयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा प्रजातान्त्रिक शक्तिहरुलाई गोलबन्द गर्नु जरुरी रहेको दावी गर्नुभयो ।

संविधानसभाका सय दिन वाकी, संविधानप्रति आशंका

संविधानसभा मार्फत नयाँ संविधान जारीगर्न एक सय दिनमात्र बाकी रहेको छ । नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्ने, मस्यौदामाथी संविधानसभामा छलफल गर्ने तथा जनमत संकलन गर्ने जस्ता महत्वपूर्ण प्रक्रिर्या बाकी रहेका कारण आगामी जेठ १४ मा संविधान बन्ने संभावना कमजोर देखिदै गएको छ । यद्यपी विभिन्न दलका सभासदहरुले प्रमुख दलका संविधान बनाउने इच्छाशक्ति भए सयदिनमा संविधान जारीगर्न सकिने बताएका छन । 

सम्बैधानिक समितिका सभापति निलाम्बर आचार्यले पूर्व–निर्धारित प्रक्रिर्या र कार्यतालिका अनुसार जेठ १४ मा संविधान जारीगर्न संभव नभएपनि दलहरुमा इच्छाशक्ति भए संविधान बन्ने बताउनुभयो । कतिपय प्रक्रिर्या छोट्याएर भएपनि जेठ १४ मै संविधान जारीगर्नेगरी छलफल अगाडि बढाउनु पर्ने उल्लेखगर्दै आचार्यले त्यसकालागि सम्बैधानिक समिति तयार रहेको बताउनुभयो । 

यसैवीच, संविधानसभाको सम्बैधानिक समितिले बिषयगत समितिका मस्यौदा प्रतिवेदनमाथी एकसरो छलफल टुङ्ग्याएको छ । नियमावलीमा संशोधनपछि गत माघ १८ देखी बसेको सम्बैधानिक समिति बैठकले उच्चस्तरिय कार्यदलले सहमति जुटाउन नसकेका तीन बिषयमा सहमति जुटाएको छ । केन्द्र र प्रदेशमा एकै प्रकारको निर्वाचन प्रणाली अपनाउने र नयाँ संविधानमा संक्रमणकालीन व्यबस्थामा सहमति भएको सम्बैधानिक समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । यसअघि कार्यदलवाट मिल्न नसकेका ७८ विबाद ७५ मा झरेको छ । 

एमालेद्वारा रविन्द्र श्रेष्ठ र अन्सारीलाइ निलम्बनः

नेकपा एमाले अनुसाशन आयोगले निवर्तमान मन्त्री एंव पोलिटव्युरो सदस्य रवीन्द्र श्रेष्ठलाई नैतिक आचरण विपरित क्रियाकलाप गरेको भन्दै पार्टी सदस्ययता र पदीय जिम्मेवारबाट निलम्वन गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले युवती लिएर वेपत्ता भएका श्रेष्ठलाई सदस्यताबाट निलम्वन गर्ने निर्णय गरेको हो । आयोगले श्रेष्ठको नैतिक आचरण एंव क्रियाकलापबाट पार्टीलाई गम्भिर आघात पुगेको ठहर गर्दै अनुसन्धान गरी थप कारवाही अघि बढाउन केन्द्रिय कमिटिलाई निर्देशन दिएको छ । 

अनुसान आयोगले साउदी अरेवियाका लागि निर्वतमान राजदुत हमिद मियाँ अन्सारीले मुलुक र   पार्टीको प्रतिष्ठामा आँच पुग्ने काम गरेको भन्दै पार्टीको सदस्यताबाट निष्कासन गरेको छ । अन्सारीले मृतकको क्षतिपूर्ति वापतको रकम आफै आफ्नो ातामा राखी  दुरुपयोग गरेको सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । 

एमाले अनुशासन आयोगले माघ २० गते भएको प्रधानमन्त्रीको निर्वाचनमा पार्टीको ह्विप उलंघन गरी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई मत हाल्ने सभासद शिला कतिलाको सम्वन्धमा जानकारी पठाउन संसदीय दलका प्रमुख सचेतकलाई पत्राचार गरेको छ । आयोगले पार्टीका अनुशासन उल्लंघनका विभिन्न घटना देखा परेको उल्लेख गर्दै यस्ता गलत प्रबृत्तिलाई समयमै नियन्त्रण गरी पार्टीलाई संयम, मर्यादित, अनुशासित र एकतावद्ध राख्न केन्द्रिय कमिटिको ध्यानकर्षण गराएको छ । 

हिमपातले जनजीवन प्रभावित, हवाइसेवा ठप्प

हिजोदेखि अविर्ल परेको वर्षा र हिमपातले आज राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौ उपत्यकामा आज दिनभरी वर्षा हुँदा चिसो निकै बढेको छ । लगातारको वर्षापछि आज उपत्यकाका वरिपरीका फुलपिङ, शिवपुरी लगायतका स्थानहरुमा हिउ परेको छ । यस्तै देशभरका पहाडि जिल्लाहरुमा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

हिमपातले मौसममा खरावी आएपछि नेपालगन्जबाट कर्णाली अञ्चललगायत मध्य तथा सुदूरपश्चिमाञ्चलका हिमाली जिल्लाहरूमा हवाइ उडान सेवा ठप्प भएको छ । नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका अनुसार जुम्ला, हुम्ला, कालिकोट, बाजुरालगायतका सबै स्थानमा हुने उडान अवरुद्ध भएको छ । 

यस्तै अबिरल हिमपातका कारण रुकुमका उत्तरी गाविसहरुमा चारफिट बाग्लो हिउँ परेको छ । यसैगरी गोरखा र दोलखामा पनि हिजो रातीदेखि परेको हिमपातका कारण जनजिवन कष्टकर बनेको छ । अविरल वर्षाका कारण कालिकोट जिल्लाको जनजीवन कष्टकर बनेको छ । अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा घर भत्किनाका साथै बाटोघाटोसमेत बिग्रिएर आवतजावतमा कठिनाइ आइपरेको छ । 

जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । धनकुटाको उच्च पहाडी क्षेत्रमा आज बिहानदेखि ठूलो मात्रामा हिमपात भएकाले जनजीवनका साथै कृषि वालीलाईसमेत नराम्रोसँग प्रभावित बनाएको छ । वर्षासँगै हिमपात परेकाले जिल्लाको उच्च पहाडी क्षेत्रमा अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर बनेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपात भएकाले साग, मुला, बन्दाकोपीलगायतका तरकारी वाली नष्ट भएको र पशुसमेत खतरामा परेको त्यस क्षेत्रका कृषकहरुले जानकारी दिएका छन् । 
सत्ताको तातोमा जाने—नजाने 

नेपाली कंग्रेश संसदिय दलका नेता रामचन्द्र पौडेलले कंग्रेश एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने बताउनु भएको छ । तनहुमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले कुनै हालतमा पनि कंग्रेश सरकारमा सामेल नहुने स्पष्ट गर्नुभएको हो । कंग्रेश नेतृ सुजता कोइरालाको सरकारमा सामेल हुनसक्ने भन्ने भनाई उहाको निजी धारणा भएको नेता पौडेलको भनाई थियो । उहाले प्रधानमन्त्रि निर्वाचनका क्रममा एमाले र माओबादी बिच भएको सातबुँदे सहमती जनता झुक्याउने प्रपञ्च भएको दाबी गर्नुभयो । नेता पौडेलले शान्ति प्रक्रियाले पूर्णता नपाएसम्म माओबादीलाई सुरक्षा सम्बन्धी कुनैपनि मन्त्रालय दिन नहुने धारणा राख्नुभयो । 


प्रधानमन्त्री खनाल र नेता ओलीबीच छलफलः

प्रधानमन्त्री झलनाथ खनाल र एमाले प्रभावशाली नेता केपी ओलीले बीच आज छलफल भएको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा विहान भएको छलफलमा नेताहरुलाइ हिजो प्रधानमन्त्री निवास प्रवेशमा रोक लगाइएको बिषयमा कुरा भएको बुझिएको छ । भेटमा नेता ओलीले सातबुदे सहमति कायान्वयनवारे दुइदलबीच भएको सहमतिवारे समेत गम्भीर असन्तुष्टि जनाउनु भएको स्रोतले जनायो । यसअघि सहमतिप्रति असहमति जनाउन वालुवाटार पुगेका नेता ओलीलाइ सुरक्षाकर्मीले फर्काइदिएका थिए । भेटवारे दुवै पक्षका नेताहरुले बोल्न चाहेनन । भेटमा सचिव शंकर पोखे्रल समेत उपस्थित हुनुहुन्थ्यो । 

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विरामी 

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई अचानक अस्वस्थ भएपछि आज साउपचारका लागि राजधानीको नर्भिक अस्पताल भर्ना हुनु भएको छ । उहाँलाई स्वास प्रश्वास, फोक्सो, मृगौला, मुटु सम्बन्धी समस्या देखिएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उहाँको अवस्था केही गम्भीर देखिएकोले आइसीयु कक्षमा राखी उपचार गराइरहेको जनाइएकोछ । उहाँलाई केही दिन समयअघि मात्र उपचार गरी घर फर्काइएको थियो । 


No comments: