Tuesday, May 3, 2011

बैशाख २० गते २०६८

सिन्धुलीमा बस दुर्घटना, १२ को मृत्यु

सिन्धुली, २० बैशाख । सिन्धुलीको रिठ्ठेमा आज भएको बस दुर्घटनामा परी बाह्र जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सिन्धुलीको खुर्कोटबाट बनेपा आउदै गरेको बा २ ख ३३७५ नम्बरको बस रिठ्ठे बनमा दुर्घटना भएको हो । दुर्घटनामा परि दश जनाको घटनास्थलमै तथा दुइ जनाको उपचारका लागी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा २५ यात्रु सवार रहेको जनाईएको छ । मृतक मध्ये चार जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा सिन्धुली श्रीजंग गणका शिवबहादुर कार्की, सिन्धुलीकै श्याम बस्याल र रामेछापका आइत माझी र उनकी छोरी रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पताल र बनेपामा उपचार भइरहको छ । सडकबाट झन्डै २५ मिटर तल खसेको बस भीरमा झुन्डिएको अवस्थामा रहेको छ । बस भिरमा रहेकाले अझै कयाँै हराइ रहेको हुनसक्ने अनुमान गरिएको छ । यसैबिच केही संचारमाध्यमहरुले मृत्यु हुनेको संख्या १५ पुगको जनाएका छन् । 

पेट्रोलियम पदार्थ आपूर्ति भोली देखी सहज हुने

काठमाण्डौँ, २० बैशाख । दुइ महिनाका लागी तिन अर्ब बराबरको पेट्रोलिय पदार्थ उधारोमा दिन भारतिय आयल निगम सहमत भएपछि भोली देखी पेट्रोलिय पदार्थको आपुर्ति सहज हुने भएको छ । सरकारको आग्रहमा दुइ महिनाका लागी पेट्रोलिय पदार्थ बक्यौतामा दिन भारतिय आयल निगम सकारात्मक देखिएको हो । आपुर्ति नियमीत हुने भएपछि भोली देखी बजारमा पेट्रोलिय पदार्थ वितरणको मात्रामा समेत वृद्धि हुने भएको छ ।

सरकारको जमानीमा कर्मचारी संचयकोषले दुइ अर्ब  रिण दिन लागेपछि निगमले वितरण सहज हुने बतएको छ । आपुर्ति मन्त्रालयका प्रवक्ता पुरुषोतम ओझाले भोली देखि वितरणमा सहजता उत्पन्न हुने बताउनुभयो । ओझाले भारतबाट हुने ग्याँस आयातामा समेत वृद्धि गर्न लागेको जानकारी दिनुभयो । आयल निगमका अध्यक्ष दिगम्बर झाले शुक्रबारबाट देशैभर सहज रुपमा पेट्रोलियम पदार्थ प्राप्त हुने जानकारी दिनुभयो ।

आगामी संविधानमा प्रेस स्वतन्त्रता मौलीक हकको रुपमा राखिने– प्रधानमन्त्री खनाल

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्रि झलनाथ खनालले जेठ १४ पछिको अवस्थाका बारेमा दलहरुले अहिले नै सहमति गरिसक्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको २३ औ राष्ट्रिय महाधिबेशनको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्रि खनालले आगामी जेठ १४ मै संबिधान जारी गर्न नसकिए त्यसपछिको स्थितीलाई मध्यनजर गर्दै सहमतीका लागि पहल गर्न दलहरुलाई आग्रह गर्नुभयो । शान्ति र संविधानका लागि सहमतिको अर्काे विकल्प नभएको चर्चा गर्दै प्रधानमन्त्री खनालले भन्नुभयो– राजनीतिक सहमतिबाटै वर्तमान गतिरोधको अन्त्य गर्न सकिन्छ । संविधानका लागि विवादमा रहेका भनिएका शासकीय स्वरुप, निर्वाचन प्रक्रिया र राज्यको पुनःसंरचनाका विषयमा सहमति जुटाउन छलफल भइराखेको जानकारी दिदै प्रधानमन्त्री खनालले शान्ति र संविधानका लागि एकीकृत माओवादीको केन्द्रीय समितिबाट गरिएको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । लोकतान्त्रिक आन्दोलन र प्रेस स्वतन्त्रताको आन्दोलनमा नेपाल पत्रकार महासङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको खनालको भनाइ थियो ।

सो अवसरमा प्रधानमन्त्री खनालले प्रेस स्वतन्त्रता सेनानीबाट महाङ्घका पूर्वसभापति तारानाथ दाहाल, वरिष्ठ पत्रकारद्वय कर्णबहादुर कार्की र पूर्णकान्त झालाई सम्मान गर्नुभयो । प्रधानमन्त्री खनालले महासङ्घका कार्यालय सचिव शेषराज खतिवडालाई दीर्घसेवा सम्मानबाट सम्मान गर्नुभएको थियो ।
   
सभामुख सुवास नेम्बाङले शान्ति र संविधानका लागि दलहरु सहमतिका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले दलहरु बीचको अविश्वास नै अहिलेको मुख्य चुरो भएको चर्चा गर्दै सार्वजानिक वक्तव्यमा शान्ति र संविधानका लागि हामीहरु एकजुट हुन्छौँ भनिए तापनि व्यवहारमा त्यो कार्यान्वयन नभएको बताउनुभयो । माओवादी, काँग्रेस र एमाले एक ठाउँमा नआएसम्म वास्तविकरुपमा मुलुकले शान्ति र संविधान प्राप्त गर्न नसक्ने बताउनुभयो ।  संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले शान्ति र संविधानका लागि दलहरु एक ठाउँमा आउनुको अर्काे विकल्प नभएको बताउनुभयो ।

यसैबीच शान्ति, सहमति र संविधानः नेपाल पत्रकार महासङ्घको अभियान भन्ने नाराका साथ नेपाल पत्रकार महासङ्घको २३ औँ महाधिवेशन आजबाट राजधानीमा सुरु भएको छ । दुईदिने सो सम्मेलनमा महासङ्घका करिब नौ हजार साधारण सदस्यबाट निर्वाचित करिब १३ सय प्रतिनिधिले भाग लिएका छन् । महाधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवलगायत ३१ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

शान्ति र संविधानका लागि जनसभा

काठमाडौँ, २० वैशाख । पछिल्लो समयमा शान्ति र संबिधानलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको एकीकृत नेकपा माओवादीले आगामी जेठ १ देखि १० गतेसम्म देशका बिभिन्न स्थानमा शान्ति र संबिधानका लागि भन्दै जनसभा एवं जनपरिचालन गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास नयाँबजारमा आज बसेको पदाधिकारी बैठकले शान्ति र संविधानमा जोड दिँदै जनपरिचालन गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले जेठ १० गते काठमाडौँ उपत्यका लगायत देशका छ वटा सहरमा जनसभा गर्ने कार्यक्रम तयार गरेको छ । सबै जनसभामा पार्टीका पदाधिकारी तथा स्थायी समिती सदस्यहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  काठमाडौँ हुने सभालाई अध्यक्ष प्रचण्ड, विराटनगरमा उपाध्यक्ष बाबुराम भट्टराई , जनकपुरमा अर्का उपाध्यक्ष प्रकाश , धनगढीमा महासचिव रामबहादुर थापा , पोखरामा सचिव सिपी गजुरेल र नेपालगन्जमा स्थायी समिति सदस्य लीलामणि पोखरेलले सम्बोधन गर्नुहुने माओबादीले जनाएको छ ।

सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम भने माओबादी पदाधिकारी बैठकले आज पनि टुंगो लगाउन सकेन । वैठकमा मन्त्री चयनका बिषयमा बिबाद भएपछि सरकार गठन भएको तिन महिना बितिसक्दापनि माओबादीले सरकारमा पठाउने थप नेताहरुको नाम तय गर्न नसकेको हो ।

यद्यपी बैठकले यसअघि झै मन्त्रीहरुको छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । अध्यक्ष प्रचण्डले २ दिनभित्रमा मन्त्री छनोट गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराइले आ–आफ्ना नजिककालाई मन्त्री बनाउन खोजेपछि आफ्नै समर्थनमा वनेको सरकार तिन महिना पुग्दा पनि मन्त्री छान्न माओबादी असफल भएको छ ।

गृह मन्त्रालय बाँडफाँडमा सहयोगका लागी खनाल पुगे नेपाल निवास

प्रधानमन्त्री झलनाथ खनालले सरकार सञ्चालनमा सहयोग गर्न आफ्ना पार्टीका बरिष्ठ नेता माधव नेपाललाई आग्रह गर्नुभएको छ । नेपाल निवास कोटेश्वरमा आज बिहान भएको भेटमा प्रधानमन्त्री खनालले संविधान लेखन, संविधानसभाको म्याद थप, शान्ति प्रक्रियाको टुंगो र पार्टी भित्रको आन्तरिक विवादका विषयमा सहयोग गर्न आग्रह गर्नु भएको हो । भेटमा प्रधानमन्त्री खनालले मुलुक जटिल परिस्थितिमा रहेकाले शान्ति र संविधानको कार्यभार पूरा गर्न सरकारलाई सघाउन आग्रह गर्नुभएको थियो । जेठ १४ भित्र नया“ संविधानको मस्यौदा तयार पार्ने र केही समय थप गरी संविधानको टुंगो लगाउने सरकारको योजना रहेको भन्दै प्रधानमन्त्री खनालले सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

जबाफमा नेता नेपालले संविधानसभाको म्याद थप्दैमा अहिलेकै स्थितिमा संविधान बन्ने निश्चित नरहेको भन्दै कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । सरकारको समेत खुलेर आलोचना गर्नुभएका पूर्वप्रधानमन्त्री नेपालले सरकारको काम कारबाही चित्त बुझदो नभएकाले बोलीलाई व्यवहारमा उतार्न समेत प्रधानमन्त्री खनाललाई आग्रह गर्नुभयो ।

पार्टी अध्यक्ष समेत रहेका खनालले केन्द्रीय समिति बैठक स्थगित गरेकोमा बरिष्ठ नेता नेपाल र अर्का प्रभावशाली नेता केपी ओलीले असन्तुष्टि जनाउ“दै आउनुभएको छ । प्रधानमन्त्री खनालले हिजोमात्रै माओवादीसंग संविधानसभाको म्याद थप्ने सहमति गर्नुभएको थियो । भेटमा नेता नेपालले पार्टीको संस्थागत निर्णयबाट मात्रै सबै काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो । पार्टी भित्रको बिबाद समाधानको पहल थाल्नुभएका प्रधानमन्त्री खनालले केहिदिन अघि अर्का प्रभावशाली नेता ओलीलाई पनि भेटेर सरकार सञ्चालनमा सघाउन आग्रह गर्नुभएको थियो ।

भरतपुर क्यान्सर अस्पताल भोलीदेखि खुल्ने

कार्यकारी नियुक्तीका बिषयमा बिवाद चर्किएपछि ६ दिनदेखि ठप्प रहेको चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल भोली देखि सञ्चालनमा आउने भएको छ ।  अस्पतालमा रहेको बिवाद समाधानको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइने भएपछि अस्पताल सञ्चालनमा आउने भएको हो । मन्त्रालयका प्रतिनिधी, प्रमुख तिन दलका स्थानीय प्रतिनिधी र केहि चिकित्सबीच आज भएको छलफलमा तत्काललाई अस्पताल सञ्चालनमा ल्याउने र बिवाद समाधानका लागि स्वास्थ्य मन्त्रालाई जिम्मा दिने सहमती भएको बताइएको छ ।  बिवादका कारण अस्पतालमा आकस्मिक बाहेक सबैसेवा ठप्प भएका थिए भने सेवा प्रभावित भएपछि अस्पतालमा उपचरारत ४ जनाको मृत्यु समेत भएको थियो । अस्पताल सञ्चालक समितीले लक्ष्मी नारायण सिंहलाई कार्यकारी निर्देशकमा नियुक्ती गरेपनि राजनीतिक ढङगले नियुक्ती गरिएको भन्दै तत्कालिन कार्यकारी निर्देशक भक्तमान श्रेष्ठले पद छाड्ना नमानेपछि बिवाद रहदै आएको छ । 

यसैबिच भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल विवादका कारण केही दिनदेखि बन्द भएपछि भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप बढेको छ । भक्तपुर क्यान्सर अस्पतालमा अहिले ओपिडीदेखि रेडिएसन, केमोथेरापी, रेडियोथेरापी र सर्जरी सेवाका लागि आउने बिरामीको सङ्ख्या बढेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले बताउनुभयो ।

झक्कु प्रसाद सुवेदीलाइ झापु महङ्गो सर्वसाधारणलाइ महङ्गो सावित हुदैँ

माओवादी सभासद् झक्कु प्रसाद सुवेदीलाइ झापु हान्ने तिनकुनेका स्थायिन ब्यापारी प्रमेराज  देबकोटालाइ ६ दिन थुनामा राख्न जिल्ला प्रशाशन कार्यलय काठमाडौँले आज प्रहरीलाइ अनुमति दिएको छ । प्रहरीले दायर गरेको सार्वजनिक अपराध सम्बिन्ध मुद्यामा प्रशाशनले यस्तो आदेश दिएको हो ।  काठमाडौँको तिनकुनेमा चिया पसल चलाउँदै आएका देवकोटाले सोमबार सभासद् सुवेदीलाइ दुबै गालामा झापड हानेका थिए । सभासद्लौ झापड हानेको भन्दै प्रहरीले उनीमाथी सर्वाजनिक अपराध सम्बन्धी मुद्या दायर गरेको थियो ।

असिनापानीले तरकारी र फलफूल नष्ट

बर्दिवास, २० वैशाख । महोत्तरीका बिभिन्न स्थानमा हावाहुरी र असिनापानीका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल बालीलाई क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालय महोत्तरीले दुई दिनअघिको असिनापानीले जिल्लामा रु १० लाखभन्दा बढीको तरकारी र फलफूलबाली नोक्सान भएको जनाएको छ । गत आइतबार राति बेगसँगको हावाहुरीसँगै परेको असिनापानीले वैशाखी तरकारीबाली आँप, लिचीलगायतका फलफूलबालीमा निकै क्षति पु¥याएको स्थानीय किसानहरुले बताएका छन् । हावहुरी सँगै परेका असिनापानीका कारण आँप, लिँचीलगायतका फलफूल तथा तरकारी नष्ट गरेपछि गुजारा चलाउनै कठिन भएको किसानहरुले बताएका छन् ।

पत्रकारिता केन्द्रिय विभागमा तालाबन्दी

काठमाण्डौँ, २० बैशाख । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको आमसन्चार तथा पत्रकारिताको केन्द्रिंय विभागमा स्नाकोत्तर तह प्रथम बर्षका विद्यार्थीहरुले आज तालाबन्दी गरेका छन् । पत्रकारिता विभाग र क्याम्पस प्रशासनले नाजायज शुल्कको बखेडा झिकी परीक्षा फराम भर्न अवरोध गरेको भन्दै रत्न राज्य लक्ष्मि क्याम्पसमा रहेको पत्रकारिता केन्द्रिय विभाग र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको विद्यार्थीहरुले जनाएका छन् ।

पैँतालिस दिन भित्र कम्प्युटर, रेकर्डर, क्यामेरा लगायतका सामाग्री ल्याउने सर्तमा प्रति विद्यार्थी पाँच हजार चार सय रुपैया शूल्क उठाउने सहमती भएपनि दश महिना वितीसक्दा पनि शैक्षिक सामागी्रहरु नआएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुले सहमती कार्यान्वयनमा विद्यार्थी संगठन, विभागीय प्रमुख प्रवलराज पोखरेल र क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेलबीच हिजो र आज भएको वार्ता निश्कर्षविहिन भएपछि तालाबन्दीमा उत्रनुपरेको बताएका छन् । तोकिएको समयमा सामानहरु नआउँदा समेत शुल्क तिर्न बाध्य पार्नु गैरकानुनी, खेदजनक र हास्यास्पद भएको विद्यार्थीहरुको भनाइ छ ।

विद्यार्थी प्रतिनिधिमूलक संस्था स्वतन्त्र विद्यार्थी युनियनको समेत सहभागितामा यसअघि शैक्षिक सामाग्री उपलब्ध नभए शुल्क नतिर्ने सहमती भएपनि स्ववियुले कार्यान्वयनमा उदासिनता देखाएको विद्यार्थीहरुको आरोप छ । साथै विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो हित विपरित शुल्क तिर्न दवाव दिईरहेको आरोप लगाएका छन् । उनीहरुले आफ्ना माग प्रति क्याम्पस प्रशाशन र पत्रकारीता विभागले आँखा चिम्लिए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री खनालद्धारा चार लेन सडको औपचारीक उद्घाटन

काठमाडौँ, २० वैशाख । नवनिर्मित काठमाडौँ–भक्तपुर विस्तारित सडकको आज काठमाडौँको तिनकुनेमा उद्घाटन भएको छ ।     जापान सरकारको सहयोगमा विस्तार भएको अरनिको राजमार्गअन्तर्गत तिनकुनेदेखि सूर्यविनायकसम्मको ९.१ किलोमिटर सडकको प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुभएको हो ।२०६५ मङ्सिरबाट विस्तार कार्य प्रारम्भ गरिएको ६ लेन चौडाइको सो सडक निर्माणमा जापान सरकारबाट एक अर्ब ७७ करोड ४७ लाख ४० हजार अनुदान सहयोग र नेपाल सरकारबाट करिब ४० करोड लागत रहेको छ ।

सो अवसरमा प्रधानमन्त्री खनालले शान्तिपूर्ण र समृद्ध नेपाल निर्माणका लागि यो सडक कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले जापान नेपालको एक घनिष्ट मित्र हो भन्दै यो सडक नेपाल र जापानबीचको मित्रताको प्रतीक भएको धारणा राख्नुभयो ।

कार्यक्रममा भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले पूर्वी तराईलाई जोड्ने मूलबाटोको रुपमा रहेको यस सडकको विस्तारबाट देशको आर्थिक, सामाजिक, कृषि र उद्योग क्षेत्रको विकासमा सघाउ पुग्ने धारणा राख्नुभयो । उहाँले नागढुङ्गा टनेल बनाएर पश्चिमको बाटो खोल्ने, दक्षिणकाली फास्टट्रयाक विस्तार गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो ।

नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनोले यो सडक नेपाल र जापानबीचको जनस्तरको प्रगाढ सम्बन्धको चिह्नो हो भन्नुहुँदै भविष्यमा पनि जापानले असल मित्रको रुपमा नेपाललाई सहयोग गर्ने वचन दिनुभयो ।

अन्तराष्ट्रिय समाचार
ओसामा बिन लानेदको बारे जानकारी थिएन ः पाकिस्तान

पाकिस्तानी अनुसन्धान ब्युरो (आइएसआइ्) ले ओसामा बिन लादेन पाकिस्तानमा लुकेकोबारे आफुलाइ जानकारी नभएको स्पष्ट गरेको छ । पाकिस्तान माथी लादेनको समाचार लुकाएको अन्तराष्ट्रिय आरोप लागिरहेको बेला आइएसआइले जानकारी नभएको बताएको हो । साथै आइएसआइले लादेनबारे जानकारी नहुनुमा आफ्नो ठुलो भूल भएको भन्दै आफ्नो अनुसन्धान ब्युरोको गल्ती भएको स्वीकार गरेको छ । आइएसआइले सन् २००३ मा उक्त भवनमा छापा मारे पनि त्यसपछि उक्त भवनमा चेक जाँच नगरिएको समेत जनाएको छ ।

यसअघि हिजो पाकिस्तानको राजधानी कराँचीबाट ९० किलोमिटर उत्तर एबटाबादमा अन्तराष्ट्रिय आतकंवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेनको अमेरिकी सैन्य कारवाहीमा मृत्यु भएको थियो ।

यता लादेनको हत्या पश्चात थप तथ्यहरु बाहिर आएका छन् । पाकिस्तानी अनुसन्धान ब्युरो आइएसआइका एक अधिकारीले लादेन माथी अमेरिकी हमलाका समयमा लादेन रहेको कम्पाउण्डमा सत्र अठार ब्यक्ति रहेको बताएका छन् । ती अधिकारीलाइ उदृत गर्दै विविसीले अमेरिकी सेनाले लादेनको कम्पाउण्ड बाट एक ब्यक्तिलाइ अमेरिकाले जिवितै लगेको बताएको छ । सैन्य हमला गरिएको कम्पाउण्डमा चार शव भेटिएको, आठ बालबालिका जिवितै भेटिएको तथा लादेनको श्रीमती र छोरी पनि जिवितै रहेको पाकिस्तानी अधिकारीलाइ उदृत गर्दै विविसीले जनाएको छ । 

यसैबिच संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले अल कायदाका नेता ओसामा बिन लादेनको मृत्यु भएकोमा प्रशन्नता ब्यक्त गर्नु भएको छ । उहाँले आतंकवाद बिरुद्ध भएका अन्तराष्ट्रिय घटनाहरुमा यो महत्वपूर्ण उपलब्धी भएको टिप्पणी समेत गर्नुभएको छ । यस्तो चीनले पनि लादेनको मृत्यु आतंकबाद विरुद्ध महत्वपूर्ण कदम भएको टिप्पणी गरेको छ ।

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटवल

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आजको पहिलो खेलमा बिग्रेड ब्वाइज र बौद्ध फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अङक बाँडेका छन् भने दोस्रो खेलमा आरसिटीलेृ फ्रेन्ड्सलाई २—० ले पराजित गरेको छ ।

दशरथ रङगशालामा भएको पहिलो खेलमा निर्धारित ९० मिनटसम्म ब्रिगेड र बौद्ध दुबैतर्फबाट कुनै गोल हुन नसकेप।िछ खेल बराबरीमा सकिएको हो । दुबै टोलीले केही राम्रा अवसरहरु पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीाम चित्त बुभ।ाउन बाध्य भए ।

यस्तै अकौ खेलमा आरसिटीले फ्रैन्स क्लबलाई २–० ले पाखा लगाउँदै महत्वपूर्ण तीन अङक जोडेको छ । अमर डङगोल र भीम दर्लामीले आरसिटीको जितमा गोल गरेका थिए ।

No comments: