Friday, January 13, 2012

भट्टराइको इज्जत जोगाइदिन वेन नेपालमा

Chinese Premier Wen Jiaboa in Nepal
मनोज सत्याल
काठमाण्डौँ । चिनियाँ प्रधानमन्त्री वेन जियावाओलाइ नेपाल भ्रमणमा ल्याउन नसकेको भन्दै कुटनैतिक रुपमा सरकार असफल भएको भन्ने विपक्षीहरुले गरेको खण्डनलाइ चिर्दै अन्ततह वेन नेपाल आउने भएका छन् । यसअघि पुस पाँच गतेका लागी तय भएको भ्रमण अन्तिम समयमा आएर चिनियाँ पक्षले स्थगन गरेपछि प्रधानमन्त्री भट्टराइ नेतृत्वको सरकारको कडा ओलोचना भएको थियो । तर यतिबेला पाँच घण्टाका लागी भएपनि नेपाल आइदिएर वेनले भट्टराइको इज्जत जोगाइदिने भएका छन् । 

तर भ्रमण चर्चामा भएपनि यसअघि जस्तो सरकारी मागपत्र भने यसपटक चर्चामा छैनन् । वेनको भ्रमणको तयारीमा ब्यस्त सरकारले यसपटक भने माग्ने लिस्ट कता खसाल्यो त्यो भने हेर्न बाँकी नै छ । अब पाँच घण्टाको सदुपयोगको प्रश्न छ भट्टराइ समक्ष । 

आन्तरिक कारण दर्शाउँदै केही साता अघिको नेपाल भ्रमण स्थगित गर्नुभएका चीनिया प्रधानमन्त्री वेन जिया वाओ भोली केही घन्टाका लागि नेपाल आउनुहुने भएको छ । कतार लगायतका केही एसियाली राष्ट्रहरुको भ्रमणमा निस्कन लाग्नुभएका प्रधानमन्त्री जिया वाओ भोली विहान ११ बजे काठमाडौ आईपुग्ने कार्यक्रम रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । यद्यपी चिनयाँ दुतावास र परराष्ट्र मन्त्रालयले भने हालसम्म औपचारिक रुपमा केही बताएका छैन । त्रिभुवन विमानस्थलमा भोली चिनियाँ प्रधानमन्त्रीको विषेश विमान आउने र जाने समय तालिका जानकारी गराइएकाले भ्रमण हुन लागेको सार्वजनकि भएको हो । 


भ्रमणलाइ मध्य नजर गर्दै त्रिभुवन विमानस्थलको सुरक्षा सर्तकता समेत कडा तुल्याइएको छ । भ्रमणका दौरान वाओले हालसम्म नेपालका समकक्षी डा.बाबुराम भट्टराईसँग मात्रै भेटवार्ता गर्ने कार्यसूची तय भएको छ । 

उच्चस्तरीय भेटवार्तापछि भोली साँझ पाँच बजेनै उहाँ कतारको दोहा प्रस्थान गर्ने बुझिएको छ । जिया वाओ ईरानमाथी अमेरिकाले लगाएको आर्थीक प्रतिबन्धसँगै मध्यपूर्वका राष्ट्रहरुमा चुलिएको तेल विवादका विषयमा छलफल गर्न गल्फ भ्रमणमा निस्कन लागेको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । 

यता सुरक्षाका कारण उहाँको भ्रमण गोप्य राखिएपनि तयारी भने उच्च रुपमा गरिएको उच्च सरकारी स्रोतले बताएको छ । स्वतन्त्र तिब्बतको माग गर्दे तिब्बती शरणार्थीहरुले आत्मदाह गर्ने सार्वजनिक भएपछि चीनियाँ पक्ष नेपाल भ्रमणलाई लिएर सजग हुँदै आएको थियो । यसअघि यही महिनाको ५ गतेबाट ३ दिनका लागि तय भएको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

यसैबिच जिआवाओको भ्रमणको ब्यवस्थापनका लागि सरकारले तीब्र सक्रियता बढाएको छ । भ्रमणका विषयमा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग गोप्य छलफल गर्नु भएको छ । यद्यपी श्रेष्ठले वाओको भ्रमणबारे कुनै प्रतिक्रिया भने दिन मान्नुभएन । प्रधानमन्त्री भट्टराईसँग जिआवाओले प्रधानमन्त्री कार्यलय सिंहदरबारमा भेट तय भएको छ । सो को तयारीस्वरुप प्रधानमन्त्री कार्यलय आसपासमा रातो कार्पेट विछ्याउने तथा सुरक्षा अधिकारीहरुले सुरक्षा सक्रियता बढाएका छन् । 

यसैक्रममा प्रहरीले हिजो ११४ जना तिब्बती शरणार्थीलाइ काठमाण्डौँको थानकोटबाट प्रक्राऊ गरेको छ । चिनबाट भारत प्रवेश गरि नेपाल आउन लागेका उनीहरुलाइ अध्यागमन विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

No comments: